मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा, पुस १८ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं , पुस १५ ।

सरकारले संबिधान संसोधन नगरि चुनावको तयारी गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौंमा दुई दिने बसेको मोर्चाको बैठकले आफुहरुको माग संम्बोधन नगरि संविधान संशोधन प्रक्रियालाई थाति राखेर चुनावको तयारी गरेको भन्दै यहि पुस १८ गतेदेखि आन्दोलन गर्ने निर्णय गरेको हो ।

आज पत्रकार सम्मेलन गरि मोर्चाले यही पुस १८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ । मोर्चाले संसदमा दर्ता भएको संविधान संसोधन विधेयक परिमार्जन गरी पारित नगरेसम्म कुनैपनि खालका निर्वाचन स्विकार्य नहुने पनि चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाले संशोधन पारित नभएसम्म कुनै पनि तह वा निकायको चुनाव मोर्चालाई मान्य नहुने चेतावनी दिनुभयो । उहाले पुस १८ गते सोमबार दिनको १ बेजे देशभरका जिल्ला सदरमुकाममा आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम लगायतले खबरदारीस्वरुप विरोध प्रदर्शन गर्ने बताउनु भयो ।

मोर्चाले एमाले सहितका विपक्षी दलले संसदमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अभ्यासविपरीत भएको ठहर गरेको छ । संसोधन विधेयक संसदमा छलफल नै गर्न नदिएर एमालेले गैरसंसदिय र गैरलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको भन्दै मोर्चाले त्यस्ता क्रियाकलापको भत्र्सना गरेको छ ।

संविधान संशोधन नगरी हुने निर्वाचनले समस्याको समाधान नभई मुलुकमा झन द्धन्द्ध बढाउने निश्कर्ष सहित मोर्चाको निर्णयमा भनिएको छ– सहमतिका आधारमा संशोधन विधेयक परिर्माजन गरी पारित नगरिएसम्म कुनैपनि तहको निर्वाचन मान्य हुने छैन ।

शुक्र, पुस १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया