भरियादेखि व्यावसायी हुदै गायनसम्म गणेश न्यौपानेको जीवन यात्रा


हुनतः हाम्रो समाजमा अझै पनि सफल हुने व्यक्तिहरुलाई माग्यमानी ठान्ने चलन छ । तर भाग्यले हैन मानिसहरु आफ्नो मेहेनत र लगनशीलताले सफलताको उचाईमा पुग्दछन् , चाहे त्यो भाग्य भनौ या कर्मको फल । यस्तै अथक मेहेनत , परिश्रम र जोश जांगरकै कारण पर्यटन व्यवशायी तथा लोक गायक गणेश न्यौपाने सफल छन् आफ्नो जीवनमा , जसबाट धेरै आजको पुस्ताले पाठ सिक्न सक्छ ।

पर्यटन क्षेत्रमा ३ दशक भन्दा लामो समयदेखि सक्रिय एवं गीत संगीतको क्षेत्रमा खास गरी पूर्वेली लोक भाकामा निखारिएका न्यौपानेको सघर्ष, दुखः र सफलताको कथा उल्लेखनीय छ । विदेशी पर्यटकलाई स्वदेशी हिमाल , धार्मिक स्थलदेखि कैलाश मानसरोवर सम्म पनि घुमाएर सेवा दिने काममा अहोरात्र खटिरहेका न्यौपाने यूरोप अमेरीका जस्ता धेरै मुलुकमा घुमेका मात्र छैनन् ईटाली र स्वीजरल्याण्डको सिमानामा रहेको यूरोपकै दोस्रो ठूलो हिमाल मोन्टेरेसा पनि चढ्न भ्याएका छन् ।

२०३९ सालमा सुनसरीको धरानबाट एसएलसी पास गरेर काठमाण्डौं आएका गणेश न्यौपानेलाई शुरुमा पर्यटकहरुको भारी बाकेर अन्नपूर्ण बेसक्याम्प , सिक्लेस जस्ता ठॉउहरुमा जादा शायदै कल्पना थियो कि आज यो ठाँउमा पुग्ने छु होला भनेर । तर बलवान समयले सधै साथ दियो न्यौपानेलाई ।


धनकुटा भेडेटार ९ मुक्तिन गाँउमा तात्कालीन भारतीय सेनामा कार्यरत खड्ग बहादुर न्यौपानेको पहिलो सन्तानको रुपमा २०१८ सालमा जन्मिएका गणेश स्कुल पढ्दा विदेशी पर्यटकहरु, जसलाई त्यस समयमा नेपालीहरु अक्सर कुहिरे, खैरे भनेर बुझ्ने गर्दथे , देख्दा खेरी, उनीहरुलाई माला टिका लगाएको देख्दा खेरि नै यसरी नै कुहिरेहरुलाई घुमाउने हुन पाए भनेर सोच आउने गरेको सम्झन्छन् ।

पर्यटकको भारी बोकेर यस क्षेत्रमा प्रवेश गरेका न्यौपाने यसरी बने सफल पर्यटन व्यवसायी

त्यतिबेला भेडेटार अहिलेको जस्तो विकसित थिएन । ठूलो धनराशी खर्च गरेर उच्च शिक्षा हासिल गर्ने अवस्था नभएकाले नै न्यौपानेले काम गर्दे पढ्ने अठोट गरे । तर स्कुल देखि नै विदेशी देख्दा उनीहरुलाई घुमाउने रहर बोकेका न्यौपानेले काठमाण्डौ आए पछि कामको खोजी गर्दा ट्रेकिङ शब्द सोचे । उनी सम्झन्छन् “ ट्रेकिङ शब्द खोज्दै हिड्दा शुरुमा यति ट्रेक भेटेको थिए , त्यसैबाट शुरुमा विदेशीको भारी बोकेर हिड्ने काम पाए‘ ।

करीब ३० किलो सम्मको भारी बोकेर अन्नपूर्ण पदयात्रा मार्गको सिकलेस सम्म पहिलो पटक गएका न्यौपानेले केही समय पछि भने खाना पकाउने काम पाए । विदेशीहरुका लागि पद यात्रामा गएका बेला खाना पकाउने काम गरे ।
करीब २ वर्ष यसरी काम गरे पछि उनले २०४१ सालमा रवी भवन स्थित पर्यटन तालिम केन्द्रबाट ट्रेकिङ गाईडको तालिम लिए । सोही तालिम पछि टुर गाईडको लाईसेन्स पाए पछि भने उनले अलि बढी पैसा प,नि पाउन थाले र पर्यटक घुमाउन थाले ।
यतिले मात्रै भएन उनले २०४४ सालमा हिमाल आरोहणको तालिम पनि लिए ४५ दिन लामो । त्यस पछि भने उनले हिमाल आरोहणमा विदेशी पाहुनाहरुलाई सहयोग गर्न थाले ।
उनी नेपालको ७ वटा भन्दा बढी हिमालको ६ हजार ५ सय मिटर उचाई सम्म चढेर पर्वतारोहीलाई सहयोग पुर्याएका छन् ।


यसरी भरिया , ट्रेकिङ गाईड हुदै एक्सपीडिसनमा समेत दुखः र मेहेनत गर्दै गएका न्यौपानेले अन्ततः २०५० सालमा आफ्नै ट्रेकिङ एजेन्सी खोले मोन्टेरेसा ट्रेक्स एण्ड एक्सयस क्षेत्रमा लाग्दा आफ्नो अध्ययनको सिलिसा अगाडी बढाउन सकेनन् । तर विदेशीसगँ काम गरीरहनु पर्ने आवस्यक पर्ने भएकाले भरिया भएकै बेला देखि डिक्सनरीहरु बोकेर आफै अग्रेजी सिकेका न्यौपाने फरर अग्रेजी सहजै बोल्न सक्छन् ।
यूरोप र अमेरीका जस्ता देशहरुमा जाने आउने गरीरहने उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । टानको बोर्ड सचिव रही सकेका उनी कैलास टुर अप्रेटर बोर्डको सदस्य पनि छन् । देशका सबै जसो धार्मिक र पर्यटकीय स्थलको भ्रमण गरीसकेका न्यौपाने हुम्ला हिल्साको बाटो होस् या चीन तिव्वत ल्हासाको बाटो होस् कहिले काही पर्यटकहरुलाई आफै लिएर पनि मान सरोबर पुर्याउछन् ।
कुनै डकुमेन्ट्री सो गर्नु परेमा या कुनै विषयको ब्रिफिङ गर्नु पर्ने भएमा उनी आफै पर्यटकहरुसगँ गन्तव्यमा पुग्दछन् ।

उनले ठमेलमा कार्यलय राखेर सञ्चालन गरीरहेको मन्टेरोसा ट्रेक्स एण्ड एक्सपीडिसन ( Monterosa Treks & Expedition Pvt. Ltd. )मा उनले सिजनमा ३० जना सम्म पर्यटन क्षेत्रमा रोजगारी दिलाउन सफल भएका छन् । पटक पटक कैलाश मानसरोबर र ल्हासा पुगेका उनले त्यस क्षेत्रको पर्यटकीय गन्तव्यको बारेमा थुप्रो जानकारी हासिल गरेका छन् । र नेपालका अधिकाम्श धार्मिक स्थलको बारेमा  Thigabari, Annapurna,Dharan,Everest,Danda Bazaar,Mountain flight English,Muktinath Tour English,Janakpur tour,Kathmandu tour,Pasupatinath tour जस्ता डकुमेन्ट्रि बनाएर नेपाललाई विश्व सामु चिनाउन पनि सफल भएका छन् । 

पर्यटन क्षेत्रमा सरकारको गलत नीति र अस्वस्थ प्रतिस्पर्धा रहेको न्यौपानेको धारणा

पर्यटन क्षेत्रबाट देशका निम्ती तीन दशकदेखि योगदान दिईरहेका न्यौपानेले नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि राज्यको नीति र पर्यटन क्षेत्रमा रहेका व्यवशायी उद्योगीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण यो क्षेत्र उभो लाग्न नसकेको अनुभव सुनाउछन् ।
अहिले पनि नेपालमा २०३५ सालको पर्यटन ऐन कार्यन्वयनमा रहेको भन्दै उनले पर्यटकलाई ट्याक्स लिने व्यवस्था रहेकै कारण ठूलो संख्यामा भ्याकेसनमा आउने पर्यटक अन्त जाने गरेको उनको तर्क छ ।
साथै पर्यटक भिसामा आउने विदेशीलाई कुनै पनि क्षेत्रमा घुम्न जादा अनिवार्य गाईड राख्नु पर्ने व्यवस्था, खर्च गर्नु पर्ने निश्चित मापदण्ड र प्रणाली तय गर्ने हो भने व्यवस्थित हुने धारणा उनको छ ।
छिमेकी चीन , भारत, भुटान जस्ता देशमा समेत नरहेको करको व्यवस्था नेपालमा भएकाले पर्यटकहरु तान्न कठिन भएको बताउने न्यौपानेले निक्षी क्षेत्रका पर्यटन व्यवशायीहरु पनि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको देख्छन् ।
पर्यटकलाई अफर दिएर आफूसगँ ल्याउन सस्तो भन्दा सस्तोमा अफर दिने होडबाजी चलेकाले पनि यो क्षेत्रमा केही समस्या देखिएको उनी बताउछन् । तर पनि देशको विकासमा पर्यटन क्षेत्रको ठूलो योगदान पुग्न सक्ने न्योपानेको बुझाई छ ।

ईखैले लागेर पनि गीत संगीतमा सफल भए

२०५४÷५५ सालतिर पर्यटन व्यशायकै सिलसिलामा काम गर्ने सहकर्मीहरु मध्य एक जना गीत संगीतमा लागेका थिए । दिनहुजसो चिया खाजा खाने बेलामा उनले अरुलाई यी मैले त यत्रो म्युजिक , गीत गर्या छु , तिमीहरुले सक्छौ ? भनिरहन्थे ।
जहिले पनि यस्तो कुरा दिनै पिच्छे उनले ( न्यौपानेको अनुसार नाम उल्लेख गर्न नचाहेका व्यक्ति ) ले गर्न थाले पछि अब संगीतमा लाग्ने निधो गरेर उनी पुतलीसडकका विभिन्न संगीत विद्यालयहरुमा धाए । तर उनलाई चित्त बुझ्दो कतै भेटिए । तर उनी संगित विद्यालयको खोजीमा भने भौतारिदै नै थिए ।
त्यो बेला निकै चर्चित गीत “माछी मार न हो दाजु” का गायक नवीन गुरुङ डिल्ली बजार भोजन गृहमा गीत गाउने गर्थे । त्यही होटलमा न्यौपाने पर्यटकहरुलाई खाना खाजा खुवाउन लिएर जाने गर्थे । त्यही मेसोमा उनले नवीन गु्रुङसगँ अनुरोध गरेर भोकल सिके । अहिले पनि नवीन गुरुङलाई सम्मान गर्ने न्यौपाने आफैले ५७ सालतिर “झुम्के सल फिरिरी” निकाले । तर यो एल्वम चलेन । रञ्जना क्यासेटले बजारमा ल्याएको यो एल्वम नचले पनि उनले सांगितीक क्षेत्रमा लगानी र मेहेनत गर्न छाडेनन् र दोस्रो एल्बम निकाले “शीतको थोपा” ।


शीतको थोपाले पनि बजारमा चर्चा नपाए पछि किन चल्दैन आफ्नो गीत भन्ने सोचे तर एल्वम निकाल्न छाडेनन् । त्यस पछि उनले फेरी आफैले गीत रचेर स्वर पनि आफैले दिएर पूर्वको सुन्दर पर्यटकीय क्षेत्र भेडेटार भन्दा पूर्वतिरको डाडा बजारको ठाउलाई परिकल्पना गरेर “धनकुटा डाडाबजार ”एल्वम निकाले । यसै एल्वममा चर्चित गायक राजेश पायल राई र गायिका जुना प्रसाईले स्वर दिएको गीत निकै लोकप्रिय भयो । यसै एल्वममा कन्चनजंगाको शीर नामक बी साईडमा रहेको गीतमा स्वर दिएका न्यौपानेले यसै एल्वममा सरला राई र कृष्ण भक्त राईलाई पनि गीत गाउन लगाए । यसै एल्वमले १० औं ईमेज अवार्ड समेत जीतेको थियो २०६५ सालमा ।

त्यस पछि थप हौसला पाएका गणेशले लैलैमा कान्छी एल्वम निकाले त्यसले पनि केही चर्चा पायो । यसै गरी उनले पूर्वेली मारुनी भाका समेटेर यानी माया एल्वम निकाले जसले फेरी १२ औ सर्वोत्कृष्ट लोकगीत ईमेज अवार्ड दिलायो ।
पटक पटक ईमेज अवार्ड सहित विभिन्न चर्चा बढे पछि उनले आफूले सांगीतीक क्षेत्रमा अझ लगानी गर्न थाले ।
म्युजिक क्षेत्रमा पनि उनले पूर्वेली भूगोल र परिवेशका भाकाहरुमा केन्द्रीत भएर काम गरेका छन् । यस्तै भाकामा तयार पारीएको ढाको टोपी शीरैमा एल्वम जसबाट उनले तेस्रो पटक ईमेज उत्कृष्ट लोक गीत अवार्ड पाउन सफल भए ।
२०६९ सालमा निष्ठुरी मायालु एल्वम निकाले पछि विन्दवासीनी म्युजिक अवार्ड २०६९ को सर्वोत्कृष्ट लोक गीत विधामा उत्कृष्ट पाच भित्र न्यौपानेको गीत पर्न सफल रह्यो ।
त्यस पछि २०७० सालमा धनकुटा भोजपुर नामक एल्बम निकाले न्यौपानेले यसको एउटा मुख्य गीतले चौथो पटक ईमेज उत्कृष्ट लोकगीत अवार्ड प्राप्त गर्यो ।


यसरी शुरुमा ईखले र आफूले दुखः गरेर कमाएको पैसा खर्च गरेर पनि गीत संगीतमा लागेका न्यौपानले अहिले सांगतिक क्षेत्रमा परिचित नाम बनेको छ । उनी भन्छन् पर्यटन क्षेत्रको कामले रोजीरोटी चलेको छ बचेको समयलाई सदुपयोग गरेर संगीतमा लागेको छु यसले पनि राम्रै भएको छ ।
७२ सालको विनाशकारी भूकम्प पछि भने एल्वम बजारमा नल्याएका न्यौपानेले अब आउदो ७४ साल बैशाख सम्ममा एउटा नया एल्वम निकाल्ने तयारी गरेको बताए । हाल सम्म उनको ९ वटा एल्वम दर्शक स्रोतामाझ आएको छ ।
आफूले सकुन्जेल लोक गीत संगीतलाई माया गरेर लागि रहने भन्दै आफूले रचेका गीत “ स्वर्ग जस्तो मेरो घर आज त रहेन केही पनि ” भन्ने शीर्षकमा रहेको छ । जुन गीत कसलाई गाउन दिने भनेर उनले अहिले निर्णय गरीसकेका छैनन् ।


दुखःले कमाएको पैसा लगानी गरेर शुरुमा सफल नभए पनि विस्तारै सफल चर्चित बनेका न्यौपाने यो क्षेत्रमा अझै केही गर्ने शुरमा छन् । यसले पैसा नदिए पनि नाम र प्रतिष्ठा दिएको उनको बुझाई छ । उनी भन्छन् , यदि सांगितिक क्षेत्रमा म नलागेको भए एउटा व्यावसायीको रुपमा रहन्थ्ये । तर अहिले त गित संगितका माध्यमबाट हरेक नेपालीको मन मुटुमा बस्न सकेको छ ।
उनले भने जस्तै गणेश न्यौपानेको नाम लिने बित्तिकै पहिले लोक गायक भनेर चिनिन्छन् ।
अर्को तर्फ उनले अहिले लोकगीतमा अस्लील भिडियोहरु बनाउने , विभिन्न खाले विकृतिहरु भित्रिएको भन्दै यसलाई सुधार गर्नु पर्ने बताए ।


यस्तै विकृतिहरु रहिरहने र अझै बढ्दै जाने हो भने नेपालको मौलिक कला संस्कृति नै लोक संगितको क्षेत्रबाट लोप हुन सक्ने तर्फ पनि उनको चिन्ता छ ।

सरल र सफल पारीवारीक जीवन

आफ्नो जीवनमा लाउने खाने कुराको ठूलो सोख नराख्ने न्यौपाने साधारण जीवन बिताईरहेका छन् । कति उनका समकालीन साथीहरुले मंहगा गाडी चढेका छन् र उनलाई भनि पनि रहेका छन् किन गाडी नकिनेको तर उनी गाडीका सौखिन छैनन् ।
श्रीमति कल्पना न्यौपानेको सहयोग र योगदानका कारण नै आजको यो सफलता हासिल भएकोमा न्यौपाने गर्व गर्दछन् । घर व्यवहारका धेरै श्रीमति न्यौपानेले ठूलो भूमिका खेलेकी छन् । साथै उनीहरुको एउटी छोरी छिन् जो हाल बि.बि. ए. अध्ययन गरीरहेकी छन् । छोरीलाई पनि उनको रुची अनुसारको शिक्षा दिक्षामा कुनै कमी हुन दिएका छैनन् गणेशले ।

उनी राज्यको नागरिक भए पछि राज्यलाई योगदान गर्नु पर्छ भन्ने भाव राख्दछन् । त्यसैले त उनले एक करोड जति पर्ने घरको कर मात्रै १० लाख तिरेर प्रमाण राखेका छन् ।
धेरै मानिसले राज्यलाई कर छलि गरेर पैसा कमाएका छन् तर न्यौपाने भन्छन् हामी जति राज्यलाई ठग्न खोज्छौ त्यति नै देश पछि पर्छ त्यसैले सबै नागरिकले कानुन अनुसार राज्यप्रतिको दायित्व पनि निर्वाह गर्नु पर्दछ ।

जीवन साथी कल्पना र छोरीका साथमा गणेश ।

युवा पुस्तालाई सन्देश

कर्मशील र मेहेनती एवं प्रतिभाशाली गणेश न्यौपाने अहिलेको युवा पुस्तामा विभिन्न खाले विकृति देखिएकोमा चिन्तत छन् । शिक्षा दिक्षामा पहिला भन्दा धेरै ठूलो अवसर अहिले पनि युवाहरु कतिपय गलत व्यवहारमा लागेको उनको बुझाई छ । त्यसैले उनी युवाहरुलाई भन्न चाहन्छन् कि मानिस जहिले पनि मेहेनती र समाज प्रति ईमान्दार हुनु पर्छ जसले उ एक दिन अवस्य सफल हुने छ ।

न्यौपानेले भने जस्तै समाजमा , राज्य सयन्त्रका सञ्चालकहरु सबै ईमान्दार भएर लाग्ने हो भने हाम्रो देश बन्न धेरै समय लाग्ने थिएन । समाजलाई यही शिक्षा दिन चाहने न्यौपानेको व्यवशायीक, सांगीतीक एवं पारीवारीक र बाकी‘ व्यक्तिगत जीवन सु्खमय बनोस शुभकामना छ ।

बिहि, पुस १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य व्यक्ति व्यक्तित्व समाचार