स्थानीय तह निर्वाचनको मागसहित परेको रिटमाथि आज एमिकस क्युरीले बहस गर्ने

काठमाडौ १३ पौष ।  

स्थानीय तह निर्वाचनको मागसहित सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा आज कानुन व्यवसायीका तर्फबाट बहस हुदैछ । रिटमाथि आज छ जना कानुन व्यवसायीले अदालतको सहयोगी एमिकस क्युरीका रूपमा बहस गर्न लागेको हो ।

एमिकस क्युरीले स्थानीय निकायको निर्वाचन संविधानतः मिल्ने नमिल्ने विषयमा तटस्थ रूपमा बहस गर्नेछ । नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसनले तीन–तीन जना कानुन व्यवसायीलाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ ।

न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र हरिकृष्ण कार्कीको इजलासले गत बुधबार नेपालको संविधानको धारा ३०३ बमोजिम स्थानीय निकायको निर्वाचन सम्बन्धमा गम्भीर संवैधानिक प्रश्न समावेश भएको भन्दै नेपाल बार र सर्वाेच्च बारबाट तीन–तीनजना एमिकस क्युरी बोलाउने आदेश गरेको थियो ।

नेपाल बारले वरिष्ठ अधिवक्तात्रय विपुलेन्द्र चक्रवर्ती, सुशीलकुमार पन्त र प्रेमबहादुर खड्कालाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । यस्तै, सर्वाेच्च अदालत बारले वरिष्ठ अधिवक्ताद्वय विश्वकान्त मैनाली र पूर्णमान शाक्य र अधिवक्ता शैलेन्द्र दाहाललाई सिफारिस गरेको छ ।

नेपालको संविधान बमोजिम स्थानीय तहको सङ्ख्या र क्षेत्र निर्धारणमा लामो समय लाग्ने सम्भावना रहेको दाबी गर्दै अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन मागसहित रिट निवेदन दर्ता गराउनु भएको थियो ।

उक्त निवेदनमाथि अधिवक्ता सुनीलकुमार पटेलले सरिक हुन छुट्टै निवेदन दिनुभएको थियो ।

बुध, पुस १३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...