७ प्रदेशलाई आधार मानेर चुनाव गर्नुपर्छ : खनाल

लमजुङ , पुस ११ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले वर्तमान गतिरोधको हल गरि मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल लमजुङ शाखाले आज बेंसीसहरमा आयाजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान संशोधन प्रस्तावलाई फिर्ता लिएर चुनावमा जाने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

अहिलेको संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रहित विपरित रहेको भन्दै उहाले यसले राष्ट्रलाई खलल पार्ने र राष्ट्रिय एकता भड्काउने धारणा राख्नुभयो ।

असंवैधानिक खालको प्रस्तावलाई संसदमा ल्याएर वर्तमान सरकारले राष्ट्रको अपमान गरेको आरोप लगाउदै नेता खनालले संविधान कार्यान्वयन गर्न चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।

संविधान कार्यान्वयनको लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा उहाको जोड छ । चुनावको लागि सरकार परिवर्तन गर्नुपर्ने पक्षमा एमाले नरहेको भन्दै उहाले ७ प्रदेशलाई आधार मानेर चुनाव गराउनुपर्ने बताउनु भयो ।

संविधान संशोधनको लागि प्रतिपक्षसंग छलफल नगरी एकलौटी ढंगले अघि बढाएको आरोप लगाउदै उहाले भन्नुभयो , कुनैपनि संसदीय ब्यवस्था भएका मुलुकमा प्रतिपक्षसँग सहमति नगरीकन संशोधन प्रस्ताव कसैले अगाडि सार्दैन ।

खनालले मधेसी मोर्चालाई प्रत्येक विषयमा छलफल गरेर सहमतिमा ल्याउनुपर्ने बताउनु भयो ।

सोम, पुस ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया