सभामुखद्धारा आज शीर्ष नेताकोे बैठक आह्वान

काठमान्डौ पुस ११ ।
पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक आह्वान गर्नु भएको छ ।

बैठक नयाँबानेश्वर स्थित संसद भवनमा आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनु भयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको उहाँले बताउनु भयो ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमाले लगायत अन्य दलहरुले संशोधन विधेयक राष्टहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अलपत्र बनेको छ ।

यस्तै आजको बैठकमा लगातार सदन अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुख घर्तीले पहल गर्नू हुने बताइएको छ ।

सदन अवरुद्ध हुनु जनताको आवाज अवरुद्ध गरेजस्तै हुने भन्दै सभामुखले विधि र प्रक्रियामा विश्वास गरेर अगाडि बढ्न दललाई आग्रह गर्दै आजको छलफललाई निष्कर्षमा पु¥याउन समेत आग्रह गर्नु हुने उहाँको सल्लाहकार शर्माले बताउनु भयो ।

स्थानीय निकायको निर्वाचनका लागि सरकारले प्रस्तुत गरेका विधेयक अगाडि बढ्न नसक्दा २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभार पूरा नहुने हो कि भन्ने आशङ्का पैदा भएको छ ।

सोम, पुस ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...