कार्की विरुद्धको रिटमा बहस लम्बियो , पुस २१ मा पुन सुनुवाई हुने

काठमान्डौ ८ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्ध परेको रिट माथि सर्वाेच्च अदालतमा जारी सुनुवाई लम्बिएको छ ।

न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पुर्ण इजलासमा आज विपक्षीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ ।

पहिलो दिन हिजो निवेदकका तर्फबाट वहस सकिए पछि आज देखि विपक्षीको तर्फबाट बहस सुरु भएको हो । पहिलो दिन आज कार्कीको पक्षमा बालकृष्ण न्यौपाने र माधव वस्नेतले बहस गरेपछि बहस समाप्त भएको छ ।

कार्कीको पक्षमा बहसका लागि ५० भन्दा बढी कानुन ब्यवसायीले नाम टिपाएकाले अझै धेरै वकिलहरुले बहस गर्न बाँकी रहेको बताइएको छ । कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति गैर संवैधानिक नभएको भन्दै कार्कीको कानुन व्यवसायीले सर्बोच्चमा दलिल पेस गरेका छन् । कार्कीको नियुक्ति सम्बन्धि योग्यता, सेवा सुविधा निलम्वन, म्याद तामेलीमा अवरोध लगायतका रिटमा एक मुष्ठ सुनुवाइ भइरहेको छ ।

यसैबीच सर्वोच्च अदालतले कार्की र पूर्व कानून सचिव प्रमोद कार्कीलाई आफ्नो मुद्दामा वारेश राख्ने सुविधा दिएको छ । म्याद तामेलीमा अवरोध गरेकोवारे परेको मुद्दामा पूर्ण इजलाशले आज दुबैजनालाई वारेशको सुविधा दिएको हो ।

कार्कीले आज अदालतमा पुगेर पेशी बुझेपछि अर्को पटकदेखि वारेस राख्न पाउने भएका हुन् । यसअघि उहाहरु स्वयं नै अदालत उपस्थित हुनुपर्ने बाध्यता रहेकोमा सर्वोच्चले वारेश राख्ने सुविधा दिएको हो ।

दुवै जनाले वारेश राख्न सर्वोच्चमा निवेदन दिनुभएको थियो । तर सोही मुद्दामा प्रतिवादी बनाएका लोकमानका ज्वाई प्रवल थापा र वडा सचिव सरिता राईले भने वारेश राख्न निवेदन दिनुभएको थिएन ।

शुक्र, पुस ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया