अस्तव्यस्त कलंकी अत्याधुनिक बन्दै , कलंकीदेखि कोटेश्वरसम्म चारवटा ठूला पुल बन्ने

काठमाडौ पुस ५ ।
राजधानीको कलंकी अव अत्याधुनिक तथा सुविधा सम्पन्न बन्ने भएको छ । कलंकी चोकमा बर्सौंदेखि दैनिक जामका कारण दिक्क भएका सडक प्रयोगकर्ताले आगामी २०७५ साउन देखि सहज महसुस गर्न पाउने भएका छन् ।

चीन सरकारले कलंकी चोकमा बनाउन लागेको क्रस रोडको काम आउँदो पुस भित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र अघोषित नाकाबन्दीले लम्ब्याएकाले सात महिना थप गरी त्यस अवधिभित्र सक्ने गतिमा काम गरिरहेको छ ।

आयोजनाले पृथ्वी राजमार्गसँग अरनिको राजमार्ग जोड्नेछ । कालीमाटी तर्फबाट थानकोटतिर जाने सडक समानान्तर उचाइमा रहन्छ भने बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म ‘अन्डरपास’ बन्नेछ ।

चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ । अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ । कलंकी चोकबाट बल्खु जानेतर्फ टिनले घेरिएको ठाउँमा चार सयवटा बोर्ड पाइल गर्ने काम भइरहेको छ ।

हालसम्म ४० वटाको काम सकिएको जानकारी कोटेश्वर(कलंकी चक्रपथ सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले दिनु भएको छ ।

चोकमा क्रस रोड बनाउने काम कोटेश्वरदेखि कलंकीसम्मको १०.३९५ किलोमिटर सडक आठ लेनको बनाउने आयोजनाभित्रै परेको छ । आयोजना २०७० भदौदेखि सुरु गरिएको हो । भूकम्प र त्यसपछि अघोषित नाकाबन्दीले झन्डै ६ महिना अलमलमा परेको उक्त आयोजनाको काम अहिले तीव्र गतिमा छ ।

बल्खुबाट थानकोटतर्फ लाग्दा मोडिने ठाउँ (देब्रेपट्टि) रहेका रिटेनिङ वाल कमजोर रहेको ठहर गर्दै चिनियाँ कम्पनीले तलैबाट जग हालेर एक सय ३० मिटर लामो बनाउने भएको छ । त्यस क्रममा हाल चोकमा बारिएको स्थलको दायाँबायाँ दुईदुई लेनबाट काम चलाइएको सडकमा अब एकतर्फबाट काम चलाइनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको बैठकमा कालीमाटीबाट कलंकी चोक भएर बल्खुतर्फ मोडिने सडकमा रहेका विद्युत् पोल सारी एक लेन थप्ने विषयम छलफल भएको थियो । विद्युत् प्राधिकरणको कुलेश्वर शाखाका प्रमुख तिरेश खत्रीले मंगलबारबाट पोल सार्ने काम सुरु गरी बढीमा एक साताभित्र सक्ने बताएका थिए ।
त्यसपछि बल्खुबाट थानकोट मोडिने र विपरीत दिशाबाट बल्खु जाने सवारीसाधनले पनि सोही सडक प्रयोग गर्नेछन् । चीन सरकारले झन्डै पाँच अर्ब रुपैयाँ खर्चिएर आयोजना सम्पन्न गर्न लागेको हो । नेपालले दुईतर्फी चार लेनको डेडिकेटेड रोड (मुख्य सडक) निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछ भने दुवैतर्फ दुईदुई लेनको सर्भिस ट्र्याक नेपाल सरकारले बनाउनेछ । दुवैतर्फ फुटपाथ र साइकल लेन पनि बन्नेछ ।

चीनले कोटेश्वर चोक दक्षिण, बीएन्डबी अस्पताल र बागडोलमा एकएकवटा आकासे पुल पनि निर्माण गर्नेछ । कलंकीदेखि कोटेश्वरसम्म चारवटा ठूला पुल बन्नेछन् । कलंकी र बल्खुबीचमा पर्ने खसीबजार, बल्खु चोक, बल्खुकै बागमती नदी र बालकुमारीको मनोहरा नदीमा चारवटा पुल पनि चीनले बनाउने आजको अन्नपूर्णमा खवर छ ।

आयोजनाका इन्जिनियर रमेशकुमार दिस्टीले कलंकीमा बन्ने क्रस रोड नेपालकै लागि कोसेढुंगा हुने बताउनु भएको छ । नेपाल सरकारले बनाउने सर्भिस ट्र्याकका लागि पनि विद्युत् पोल तथा खानेपानीका पाइप सार्ने र मिलाउने काम लगभग सकिएको आयोजनाको भनाइ छ ।

मङ्ल, पुस ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...