प्रतिपक्षीले संसद चल्न नदिएर मुलुकको तीन महत्वपूर्ण काम रोकिएको प्रधानमन्त्रीको आरोप

काठमान्डौ पुस ३।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद चल्न नदिएर प्रतिपक्षी दलहरुले मुलुकका लागि महत्वपूर्ण तीन मुख्य काम गर्नबाट रोकेको आरोप लगाउनु भएको छ ।

पार्टीको १ नम्बर प्रदेश भेलामा सहभागी हुन विराटनगर पुग्नु भएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको टुंगो र चुनावको मिति घोषणा गर्नुपर्ने काम प्रतिपक्षका कारण अवरुद्ध भएको बताउनु भयो ।

अनावश्यक रुपमा संसद अवरोध गरेर गैर लोकतान्त्रिक र गैर संसदीय चरित्र प्रदर्शन भइहरेको समेत उहाँले उल्लेख गर्नु भयो । संसद चल्न र महत्वपूर्ण प्रस्तावहरु पारित हुन जति ढिलो हुन्छ उति नै बढी प्रतिपक्षी दलहरुले नोक्सानी ब्यहोर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

मधेस, पहाड र हिमाललाई जोडेर चुनावमा जान ढिलो भइरहेको भन्दै प्रधानमन्त्रीले संशोधन प्रस्तावलाई संसद मै छलफल हुन दिएर पारित अथवा फेल जे हुन्छ त्यो सबैले स्वीकार्नु पर्नेमा जोड दिनु भयो ।

साथै उहाँले वैधानिक सरकारले संसदमा कुनै प्रस्तावै राख्न नपाउने जस्तो गरी प्रतिपक्षले बितण्डा मच्चाएको आरोप समेत लगाउनु भयो । प्रधानमन्त्रील संशोधन प्रस्तावमा मधेसवादी दलको समर्थन रहेको दाबी पनि गर्नु भयो ।

हालको गतिरोध अन्त्य भएपछि चुनावको मिति घोषणा हुने प्रधानमन्त्रीको भनाई थियो । पहिले स्थानीय तह निर्वाचन, त्यसपछि प्रदेशिक अनि संघीय निर्वाचन गरिने उहाँले बताउनु भयो ।

आइत, पुस ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter