अग्नी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौं, पुस २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितलाई खाने बस्ने व्यवस्थापन गर्न र राहत उपलब्ध गराउन निर्देशन दिएको छ ।

पीडितलाई आवश्यक पर्ने सामग्रीको विवरण उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेलाई निर्देशन दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गृह मन्त्रालय, विपत् व्यवस्थापन महाशाखाका प्रमुख कृष्णबहादुर रावतलाई खाद्यान्नसहित सामग्री घटनास्थल तत्काल र्पुयाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागीबाट २८ परिबारका ३२ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट ५० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय विद्यालय तथा छिमेकीको घरमा राखिएको छ ।

यसैबीच तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागीबारे अनुगमन गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि संक्रान्ती बजार जानुभएको छ ।

निधीसँगै स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबु, सांसदहरु सीता गुरुङ र भानुभक्त ढकाल पनि त्यसतर्फ जानुभएके हो । टोलीले राहतका लागि चामल, टेन्ट, लत्ता कपडा, अक्वा सेट लिएर गएको छ । आगलागीमा क्षति भएका घरलाई प्रतिपरिवार दश हजारका रुपियाँका दरले जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरिरहेको छ ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया