Loading...

संसद बैठक पर्सि (आईतवार)सम्मका लागी स्थगित

काठमाडौ १७ मंसिर ।
प्रतिपक्षी दल एमाले सहित संबिधान संशोधनको विपक्षमा रहेका दलहरुको अबरोधका कारण व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत संबिधान संशोधनको विपक्षमा रहेका दलहरुको अबरोधका कारण अवरुद्ध संसदको अर्को बैठक पर्सि आईतवार दिउसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

संसदको बैठक सुरु हुनेबित्तिकै नेकपा मालेका सांसद सीपी मैनालीले सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन प्रस्तावको औचित्य नभएकोले धारणा राख्नुभयो ।

सो लगत्तै एमालेसहित संशोधनको विपक्षमा रहेका राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेमकिपा लगायतका दलका सांसदले आ आफ्नो स्थानबाट उठेर बैठक अबरुद्ध गरेका थिए ।
संविधान संशोधनसम्बन्धी प्रस्तावको कार्यसूची नभएकाले सदनलाई निर्वाधरुपमा सन्चालन गर्न सभामुख घर्तीले आग्रह गरेपनि अबरोध नहटेपछि सभामुख घर्तीले बैठक स्थगित गर्नुभयो ।

बैठकमा मैनालीले तराई मधेसकेन्द्रित दलका नेताहरुले बहुराष्ट्रको कुरा गरिरहेको बेला सरकारले प्रस्तुत् गरेको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने विषय आउनु संकास्पद विषय रहेको पनि बताउनु भयो ।

सदनको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने कार्यसूची रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...