Loading...

५ नम्बर प्रदेश टुक्राउने प्रस्तावको बिरोधमा आजपनि प्रदर्शन जारी

काठमाण्डौ ,१६ मंसिर ।

संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राउन लागेको बिरोधमा आज पनि अर्घाखाँची, रुपन्देही र पाल्पामा प्रदर्शन तथा बन्द भएको छ ।

विभिन्न विद्यार्थी संगठनले गरेका बन्दका कारण बिहानैदेखि रुपन्देही र पाल्पाका विद्यालय, कलकारखाना र यातायातका साधन ठप्प रहेका छन् । अनिश्चितकालीन रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववीयु लगायतका विद्यार्थी संगठन तथा अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा बिहानैदेखि प्रद्धर्शन भईरहेको छ ।

बुटवलको राजमार्ग चौराह, मिलनचौक बसपार्क ,पुष्पलाल पार्क लगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्बसाधारणहरु स्वतस्फूर्त सडकमा उत्रिएका छन् । केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका सबै दलका कार्यकर्तासमेत विरोधमा उत्रीएका छन् ।

पहाड र तराईको भावनात्मक सम्बन्ध टुक्राउन पाँच नम्बर प्रदेशबाट पहाडका जिल्ला हटाइएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले पनि विरोध गरेको छ ।

विद्यार्थीले सरकारी सवारी साधन अनिश्चितकालका लागि सञ्चालन हुन नदिने बताएका छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । स्वतस्फुर्त सडकमा उत्रीएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाईंदैन, संविधान संशोधन चाँहीदैन, हिमाल पहाड तराई कोही छैन पराई, देश बचाऔं, राष्ट्रियता जोगाऔं लगायतका नारा लगाएका छन् ।

संसदमा दर्ता भएको विधेयकमा यसअघि ५ नम्बर प्रदेशमा रहेका रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी र बाग्लुङलाई ४ नम्बर प्रदेशमा राखिएको छ ।

यस्तै अखण्ड लुम्विनी र अनेरास्ववियु रुपन्देहीले बुटवल बन्दको आह्वान गरेका हुन् । संशोधनको विरोधमा बुटवलमा प्रर्दशन सुरु भएको हो । बन्दमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ लगायतका उद्योगी तथा व्यापारीक संघसस्थाहरु पनि आन्दोलनमा जुटेका छन् ।
नेपाल विद्यार्थी संघका स्थानीय नेता बिष्णु पोखरेलको नेतृत्वमा स्थापना गरिएको अखण्ड लुम्विनीको नाममा कांग्रेस कै कार्यकर्ता संविधान संशोधनको विरोधमा लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...