Loading...

मृत्यु बोकेर बाँच्न सिकाउँदै बमकला

घोराहीः बीसबर्से बमकला खड्का । बिहेको पहिलो रात उनी आफ्ना ‘जीवनसाथी’को पर्खाइमा थिइन्, त्यो बेला उनको कल्पना थियो, जिन्दगी सधैं रंगीन बनाइरहने । बिहेपछि सात वर्ष बित्यो । जीवन रंगीन नै थियो, उनको कल्पनाजस्तै । श्रीमान् पनि मायालु नै थिए ।

सातौं वर्षको एक दिन, श्रीमान्ले संसार छोड्नुभन्दा केही घन्टाअघि मात्रै उनले थाहा पाइन्, आफूलाई त्यसरी माया गर्ने श्रीमान्लाई एचआईभी एड्सले अन्तिम अवस्थामा पुर्‍याइसकेको छ । अनि उनको जीवन एकाएक उजाडजस्तै भयो । उत्साह, उमंग एकाएक हराए । जीवन एकतमासको भो । उनले केही सोच्नै सकिनन् । रातभरि रोइरहिन् ।

अर्काे दिन बिहान गाउँमा कसैको सल्लाह लिएर उनी आफ्ना दुई नाबालक छोरा र छोरी लिएर घोराहीमा एचआईभी परीक्षण गराउन आइन्, त्यतिखेर उनमा अर्काे वज्रपात थपियो, दुईबर्से छोरो र आफूमा पनि एचआईभी पोजेटिभ देखियो ।

नेपाल परिवार नियोजन संघमा रक्त परीक्षणमा पोजेटिभ देखिएपछि उनी मुर्छा परिन् । त्यहीँ भुँइमा थचक्क बसिन् । आँखाका नानीजस्ता छोरा र छोरीलाई हेरिन्, हिक्का छुट्यो । रोक्ने प्रयास गरिन् । रोकिएन । आफन्तले उठाएर घर लगे ।

डाक्टरहरूले नेपालगञ्ज गएर औषधि खाने सल्लाह दिएका थिए । ओछ्यानमा ढलेका आफ्ना श्रीमान्लाई भनिन्, ‘बाबुलाई लगेर नेपालगन्ज जान्छु, औषधि खाएपछि मरिन्न रे, केही वर्ष बाँचिन्छ, बाबुलाई पनि भएछ, मलाई पनि ।’ आँखाबाट आँसु अनि मुखबाट रगत बगाइरहेका श्रीमान्ले भने, ‘म पनि तिमीहरूसँगै जान्छु, औषधि खाएपछि म पनि बाँच्छु कि ?

‘ निभ्नै लागेको आशाको दियो अलि चम्किएजस्तै लाग्यो बमकलालाई । ‘हुन्छ’ भनेर टाउको मात्रै हल्लाइन्, केही बोलिनन् । उनीहरू नेपालगञ्ज हिँडे । अस्पताल पुग्न १६ किलोमिटर मात्रै बाँकी थियो । श्रीमान् मित्रलाल खड्काले उनकै काखमा प्राण त्यागे । अब बमकलासँग केही बाँकी थिएन । थियो तर, श्रीमान्ले दिएको त्यही ‘एचआईभी पोजिटिभ’ र आफ्नो छोरा ।

उनी त्यहीँबाटै घरतिर मोडिइन् । १३ दिनसम्मको काजकिरिया सकेपछि उनलाई गाउँले र आफन्तले साथ दिए । संघसंस्थामा पुर्‍याए । उनले औषधि सुरु गरिन्, छोराले पनि औषधि खान थाल्यो । सबैले हौसला दिए उनलाई । त्यसपछि उनी आफू, आफ्नो रोग र पीडाबाट केही माथि उठिन् । मृत्युलाई सँगसँगै बोकेर उनी अहिले अरूलाई पनि बाँच्ने प्रेरणा दिइरहेकी छिन् ।

ठाउँठाउँमा जान्छिन्, एचआईभी संक्रमितहरूलाई भेला पार्छिन् र आफ्नो कहानी सुनाउँछिन् । भन्छिन्, ‘एचआईभी हुँदैमा सबै मर्दैनन्, यी हेर्नुहोस् अरूजस्तै म पनि बाँचिरहेकी छु, हाँसिरहेकी छु, एचआईभी कसैको दोष होइन, यो पाप पनि होइन ।’ ठाउँठाउँमा पुगेर उनले सम्झाउँदै, बुझाउँदै भन्छिन्, ‘हामी कोही पनि लुकेर नबसौं, खुलेर बाँचौं, बरु हामी लुक्दा कुनै निर्दाेषको जीवन बर्बाद हुन सक्छ ।’
२०५९ सालमा बिहे हुँदा उनका श्रीमान् भारतको मुम्बईमा मजदुरी गर्थे ।

छुट्टीमा घर आएका बेला बमकलाका भिनाजुले ‘इमानदार र मेहनती केटो छ, राम्रो हुन्छ’ भनेपछि उनका घरका पनि राजी भएका थिए । बिहे पक्का भयो । आठ कक्षा पढेर उनी मित्रलाल खड्कालाई जिन्दगी मानेर लक्ष्मीपुर ७ भकारेमा आइन् । जिन्दगी चलिरहेको थियो । श्रीमान् भारत गइरहन्थे । कहिलेकाहीँ आउँथे । उनी घर सम्हालेर बसेकी थिइन् ।

जीवनप्रति कुनै गुनासो थिएन । जब उनका श्रीमान् २०६६ सालमा घरमा आएका थिए, त्यो बेला उनी केही बिरामीजस्ता देखिए । बमकला आत्तिइन् र अस्पताल जाऊँ भनिन् । तर, श्रीमान्ले ‘तिमी घर हेर म आफै जान सकिहाल्छु भन्दै अस्पताल धाउन थाले ।

बमकलालाई उनले ढाँट्दै गए । कहिले ग्यास्ट्रिक बिग्रिएको हो भन्ने कहिले त्यस्तै अरू बिमारी बताउँदै आए । त्यही वर्षको अन्तिमतिर उनी अलि नै बढी बिरामी भए । अनि फेरि आफै नेपालगन्ज गए । एउटा मेडिकलमा सबै परीक्षण गराए ।

डाक्टरलाई शंका लागेछ अनि भेरी अञ्चल अस्पताल जान भने । त्यही मेडिकलका डाक्टरले अस्पतालमा फोन गरेर उसलाई जसरी भए पनि एचआईभी परीक्षण गरिदिन भनिदिएछन् । त्यतिखेर भेरी अञ्चल अस्पतालमा परीक्षणपछि उनलाई एचआईभी पोजेटिभ देखियो, त्यो पनि अन्तिम अवस्थाको ।

डाक्टरहरूले घरमा नजान र औषधि खान भने । तर, उनी त्यहाँबाट पनि भागेर घरै फर्किए । घरमा आएर श्रीमतीलाई ढाँट्दै भने, ‘ग्यास्ट्रिक बिग्रेको रहेछ, रिपोर्ट उतै फालेर आएँ, औषधि यतै पनि पाइन्छ रे, यहीँबाट किन्छु ।’ बमकलाले विश्वास गरिन् ।

हाम्रो बिहे हुँदा श्रीमानलाई एड्स भएको ११ वर्ष भइसकेको रहेछ । मलाई थाहा छ, मृत्यु मसँगै हिँडिरहेको छ, म मृत्यु पर्खिरहेकी छु । कति बाँच्छु थाहा छैन । तर पनि बाँच्न सिकाउँछु, प्रेरणा दिन्छु मेरो जीवनको कहानीले कसैलाई बाँच्ने रहर पो जगाउँछ कि ?

त्यसको केही दिनपछि २०६७ वैशाख २ गते फेरि उनी बिरामी परे । घरमा कोही थिएनन् । बमकलाले भिनाजुलाई भनेर भारतको रूपैडिहा औषधि गर्न पठाइन् । त्यो बेलासम्म उनले एक्लै जान कस्सिरहेका थिए । तर, धेरै नै सिरियस भएपछि बमकलाले भनिन्, ‘कि म जान्छु कि अरू कोही आफ्नो मान्छे लगेर जानुहोस् ।’ अनि भिनाजुसँग मित्रलाल रूपैडिहा गए । त्यहाँ एक दिन चेकजाँच गरेर डाक्टरले भने, ‘अब उनी धेरै बाँच्दैनन्, घरमा लगेर स्याहार्नुहोस् ।’

वैशाख ३ गते उनीहरू घर फर्किए, भिनाजुले केही भनेनन् । मित्रलाल झनै सिरियस थिए । ४ गते बिहानै उनकी दिदी आएर भनिन्, ‘नानी यो एचआईभी एड्स भनेको के हो ? ज्वाइँलाई त त्यही भएको छ रे, डाक्टरले बिदा दिएछ, तिमीलाई सबैलाई जाँच गर्ने भनेको छ रे ।’ त्यो बेला बमकला छाँगाबाट खसेजस्तै भइन् ।

त्यही दिन दिउँसो उनी घोराही आएर चेक गराइन् । उनीसहित दुईबर्से छोरोलाई ‘एचआईभी पोजेटिभ’ देखियो । ५ गते नेपालगन्ज जाँदै गर्दा उनका श्रीमान्ले भनेका थिए, ‘कान्छु, म त पापी रैछु, अपराधी रैछु, तिमीहरूलाई जिउँदै मारिदिएँ, औषधि खाइरहेस्, छोरालाई पनि खुवाएस् है ।’ हरेक दिन औषधि खाइरहँदा अहिले तिनै शब्द बमकलाका कानमा गुन्जिरहन्छन् ।

पछि मात्रै थाहा भयो, बमकलालाई बिहे गर्दा मित्रलाललाई एचआईभी पोजेटिभ देखिएको ११ वर्ष पुगिसकेको रहेछ । सानैदेखि मित्रलालले भारतको मुम्बईमा काम गर्थे । त्यहीँ उनको एउटी युवतीसँग भेट भयो । भारतीय ती युवती आफन्तबाटै कोठीमा बेचिएकी रहिछन्, एचआईभी भएपछि उनलाई कोठीबाट निकालिएछ । उनी त्यहीँको सानो चिया पसलमा भाँडा धुने काम गर्थिन् । त्यहीँ मित्रलाल र उनको माया बस्यो । बिहे भयो । त्यहाँ उनको गर्भ रह्यो ।

गर्भ जाँच गराउन जाँदा पो मित्रलाललाई थाहा भयो, युवती ‘एचआईभी पोजेटिभ’ रहिछन् । उनीहरूको झगडा भयो, बच्चा जन्माउने र नजन्माउने भन्ने विषयमा । मित्रलाल बच्चालाई जन्म दिन चाहन्थे, श्रीमती फाल्न । अनि मित्रलाल काममा गएका बेला श्रीमती भागिन् । उनले खोजी गरेनन् ।

बरु आफूलाई पनि जाँच गराए । पोजेटिभ नै देखियो । त्यसको केही समयपछि नेपाल फर्किएर र बमकलालाई बिहे गरे । आफ्नो जीवनको यो कहानी उनले जीवनभर कसैलाई भनेनन् । रोग पनि कसैलाई भनेनन् । जीवनको अन्तिम क्षणमा उनले यो कहानी बमकलाका भिनाजुलाई नै सुनाएका थिए ।

ऐलानी जग्गामा एउटा सानो घर छ उनको । अहिले छोरा गाउँकै स्कूलमा कक्षा ६ मा पढ्छन् । उनलाई थाहा छ, आफ्नो र आमाको रोगबारे । तर, कहिल्यै केही कुरा हुँदैन यसबारेमा । छोरी दुई कक्षामा पढ्छिन् । बमकला यतिबेला आफूलाई खुलेरै ‘एचआईभी पोजेटिभ हुँ’ भन्न कत्ति संकोच मान्दिनन् ।

उनलाई संघसंस्थाहरूले बेलाबेलामा ठाउँठाउँमा लैजान्छन् । पोजेटिभहरूको भेला राख्छन् र बमकलालाई सकारात्मक कुराको प्रवचन दिन लगाउँछन् । उनको अरू मेलोमेसो केही छैन । त्यस्तै कार्यक्रमका बेला संघसंस्थाले दिने भत्तास्वरूप दुई–चार हजार जम्मा गर्दै घर चलाउँछिन् । छोरा र छोरीलाई यहाँका केही संघसंस्थाले एसएलसीसम्म पढाउने जिम्मा लिएका छन् ।

‘मलाई थाहा छ, मृत्यु मसँगै हिँडिरहेको छ, म मृत्यु पर्खिरहेकी छु । कति बाँच्छु थाहा छैन’, बमकला भन्छिन्, ‘तर पनि बाँच्न सिकाउँछु, प्रेरणा दिन्छु मेरो जीवनको कहानीले कसैलाई बाँच्ने रहर पो जगाउँछ कि ? ‘ दाङ प्लस, रेडक्रस सोसाइटीजस्ता एचआईभी एड्स पीडितको क्षेत्रमा काम गर्ने संघसंस्थाले पनि उनलाई साथ दिइरहेका छन् । साभार :अन्नपूर्ण पाेस्ट

यसमा तपाइको प्रतिक्रिया

Loading...