Loading...

संघीय गठबन्धनले भन्यो, दर्ता अघिनै समर्थन गर्न सकिन्न, आन्दोलनको तयारी सुरु

काठमाडौं १३, मंसिर । मधेशी मोर्चा सम्मिलित संघीय गठवन्धनले सरकारद्वारा आग्रह गरिएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेको छ । सरकारले औपचारिक रुपमा सार्वजनिक नै नगरेको प्रस्तावलाई के आधारमा समर्थन गर्ने भन्दै गठबन्धनले प्रचार भए जस्तो संशोधन प्रस्तावलाई समर्थन गर्न नसकिने निष्कर्ष निकालेको छ ।
संघीय समाजवादी फोरम नेपालको मुख्यालय तीनकुनेमा सोमबार गठबन्धनको बैठकले सरकारले भने जस्तो दर्ता हुनु अघिनै संशोधन प्रस्तावलाई समर्थन गर्न नसकिने प्रष्ट पारेको हो । ‘के आधारमा संशोधन प्रस्तावलाई समर्थन गर्ने ? बैठकमा बोल्दै गठबन्धनका संयोजक उपेन्द्र यादवले भने, ‘सरकारले तयार गरेको खाका हेर्न पनि पाएका छैनौ, हेरेपछि न थाहा हुने हो ।’
सरकारले दर्ता अघिनै संशोधन प्रस्तावलाई समर्थन गर्नु पर्ने शर्त सारिरहेको बेला गठबन्धनका संयोजक यादवले भने संसद्मा दर्ता नहुँदै प्रस्तावलाई समर्थन गर्न नसकिने प्रष्ट पारे । यसअघि कात्तिक २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १५ दिने अल्टिमेटम पत्र बुझाउँदै गठबन्धनले संशोधन प्रस्ताव दर्ता गर्न समयसीमा दिएको छ ।
तर, सोमबार पछिल्लो अल्टिमेटम पूरा भइसक्दा पनि सरकारको तर्फबाट कुनै संशोधन प्रस्ताव दर्ता नहुदाँ गठबन्धनले तीब्र असन्तुष्टि जाहेर गरेको छ । यद्यपि, पन्ध्र दिनभित्र संशोधन दर्ता नभए ठोस निर्णय गर्ने चेतावनी दिएको गठबन्धनले अझै केही दिन पर्खने र त्यसपछि पनि संशोधन दर्ता नभए निर्णायक आन्दोलनमा जाने निर्णय गरेको छ ।
संशोधन प्रक्रियामा भइरहेको ढिलाईको समिक्षा, समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीति बारे बैठकमा छलफल भयो । तर, गठबन्धन घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन मिराक लगायत नेताहरु काठमाडौ बाहिर रहेकोले कुनै ठोस निर्णय भएन ।
सरकारको तर्फबाट संशोधनमा भइरहेको ढिलाई हेर्दा संघर्षको विकल्प नभएको निष्कर्ष निकाल्दै  बाकी नेताहरु काठमाडौं फर्के लगत्तै बस्ने गठबन्धनको बैठकले आन्दोलनको भावी कार्यक्रम घोषणा गर्न निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...