Loading...

यात्रा गर्दा बान्ता रोक्ने यी हुन् सरल उपाय

सवारी साधनमा यात्रा गर्दा धेरैसँग पूर्व तयारी नहुन सक्छ । त्यस्तो अवस्थामा आफैले सरल रुपमा नै बान्ता रोक्न सकिन्छ ।

यात्रामा बान्ता हुने समस्या (बान्ता वा वाकवाकी हुने, टाउको दुख्ने, पेट दुख्ने आदि) लाई चिकित्सा विज्ञानमा ‘मोसन सिकनेस’ वा ‘ट्राभल सिकनेस’ भनिन्छ । अमेरिकी वैज्ञानिकहरुका अनुसार ‘मोसन सिकनेस’ का पछाडि ३५ जीनहरु संलग्न रहेको प्रमाण फेला परेका छन् । तर को व्यक्तिमा यो समस्या देखिन्छ र कसमा देखिंदैन भन्ने कुराको ठोस प्रमाण अझै फेला परिसकेको छैन ।

‘मोसन सिकनेस’का अरु कारणहरुमा गाडीमा भेण्टिलेसन कम हुनु, बान्ता होला कि भन्ने पीर वा चिन्ता हुनु, यात्रा अघि चिल्लो-मसालेदार खाना धेरै खानु, यात्रा अघि अल्कोहोल सेवन गर्नु, टाउकोमा चोटपटक लाग्नु, भर्खर संक्रमण देखापर्नु, कान वा नशासम्बन्धी समस्या देखिनु आदि पाइएका छन् । यसर्थ यात्रामा सामान्य बान्ता भएमा आत्तिहाल्नुपर्ने कारण देखिंदैन । तर अत्याधिक वान्ता भएमा र नरोकिएमा भने तत्काल चिकित्सकलाई देखाईहाल्नुपर्छ ।

यात्रा गर्दा बान्ता रोक्ने सरल उपाय 

-यात्रको समयमा सकभर लेखपढ नगर्ने, मोबाइलमा गेम नखल्ने, भिडियो गेम नखेल्ने, फिल्म नहेर्ने , अल्कोहोल सेवन नगर्ने, धुम्रपान नगर्ने, कफी सेवन नगर्ने  , प्रशस्त पानी पिउने ।

-यात्रा गरिने दिशाको विपरीत फर्किएको सिटमा सकभर नबस्ने ,आँखा बन्द गर्ने या यात्रा गरिएकै दिशातर्फ टाढा क्षितिजतर्फ हेर्ने ताकि आफ्नो कानको भित्री भाग र आँखा दुवैले समान गतिको अनुभूति गरून् ।

-अगाडिको सिटमा बस्दा वा झ्यालको छेउमा बस्दा टाढा-टाढासम्म हेर्न सकिने हुँदा समस्या न्युनीकरण गर्न सकिन्छ ।

– यात्रको समयमा दुध वा दुधबाट बनेका परिकारहरु ,धेरै नुनिलो, प्रोटिन वा क्यालोरीयुक्त खानेकुरा, चिल्लो-मसालेदार खाना अत्यधिक मात्रामा सेवन नगर्ने ।

-गाडीको झ्याल खोली फ्रेश हावा लिने । तर गाडी भित्र सिटमा अत्याधिक तातो वा चिसो हुने अवस्था आउन दिनु हुँदैन । साथै मधुर गीत-संगीत सुन्ने ।

-यात्राको समयमा आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने वा १०० देखि उल्टो गन्दै आउने जस्ता मानसिक क्रियाकलापमा व्यस्त रहने ।
-‘मोसन सिकनेस’ का समस्याले पिरोलिएका व्यक्तितिर हेर्दा वा फर्किएर कुरा गर्दा समस्या आफूमा पनि निम्तिन सक्ने भएकाले सतर्कता अपनाउने ।

-यतिका बाबजूद पनि समस्या देखिएमा यात्राको आधा देखि १ घण्टा अगाडि औषधि सेवन गर्ने ।

-केही गर्दा पनि समस्या समाधान नहुने यथार्थता भएका व्यक्तिले आफ्नो समस्यासँग सम्झौता गर्दै -समस्यालाई स्वीकार गर्ने बानीको विकास गर्ने किनभने ‘मोसन सिकनेस’ आफैंमा रोग होइन बरु माथि भनिएझैं शरीरको स्वाभाविक प्रतिक्रिया हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...