Loading...

मुलुककै लामो र अग्लो झोलुङ्गे पुल सञ्चालनमा

काठमान्डौ, मंसिर १३।
पर्वतको मोदीखोलामा मुलुक कै अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएको छ । मोदी खोलामा १ सय ५८ दशमलव ७० मिटर अग्लो र ३ सय ५९ मिटर लामो झोलुङ्गेपुलको निर्माण भएको हो ।

पर्वत सदरमुकाम कुश्मालाई फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १ सय ५८ दशमलव ७० मिटर अग्लो र ३ सय ५९ मिटर लामो कुश्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण भएको हो ।
पुलको निर्माण सकिएकाले बाला चतुर्दशीको अवसर पारेर सोमाबारदेखि पुल औपचारीका रुपमा सञ्चालन गरिएको हो । कुश्मा–मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि ओहोरदोहोरका लागि खुला गरिएको जानकारी दिएको छ । आइतबार बेलुकासम्म तारबार लगाउने काम सकिएको छ । अब पुल राम्रो बनाउने काम मात्रै बाँकी रहेकाले यात्रु र पर्यटकका लागि कुनै जोखिम नहुने निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीले जानकारी दिनुभयो । बाला चर्तुदशीमा गुप्तेश्वर गुफा, अलपेश्वर, गलेश्वर जाने यात्रुको सुविधालाई ध्यानमा राखेर पुल सञ्चालन गर्न लागिएको समितिले जनाएको छ ।
मोटरसाइकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने अध्यक्ष तिवारीले बताउनुभयो । दुवै तर्फबाट सडक जोड्न तथा पुलमा मोटरसाइकल ओहोर दोहोर गर्ने पूर्वाधार बनाउन समय लाग्ने उहाँको भनाई छ । पुल कुल एक करोड ७६ लाखको लागतमा निर्माण भएको हो ।
बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुश्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण भएकाले थप पर्यटक भित्र्याउन सहयोग हुने अपेक्षा गरिएको छ । कुश्मा–कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...