Loading...

पार्टी अध्यक्ष थापा राप्रपा संसदीय दलको नेता चयन

काठमाडौ ,१२ मंसिर ।
हालै एकिकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता र उपनेता चयन गरेको छ । राप्रपा नेपालसँग एकिकरण भएपछि पहिलो पटक बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष कमल थापालाई दलका नेता र दिपक बोहोरालाई उपनेता चयन गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा आज बिहान बसेको बैठकले दुई जनाको नाम सर्वसहमत अनुमोदन गरेको सांसद दिलानाथ गिरीले जानकारी दिनुभयो ।  यसअघि थापा राप्रपा नेपालको र आपूर्ति मन्त्री समेत रहनु
भएका बोहोरा राप्रपाको संसदीय दलको नेता हुनुहुन्थ्यो ।

नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै थापाले सवैलाई बिश्वासमा लिएर पार्टीलाई सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने बताउनुभयो । बैठकमा प्रमुख सचेतक चयनबारे छलफल भएपनि अर्को बैठकबाट मात्र टुंगो लगाउने सहमति भएको सांसद दिलनाथ गिरीले जानकारी दिनुभयो ।

यस्तै बैठकले संसदीय दलको विधान संशोधनका लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको छ । दीलनाथ गिरी, बिक्रम पाण्डे, कुन्तीकुमारी शाही र पर्शुराम तामाङ सदस्य रहेको समितिले आवश्यक छलफलपछि विधान संसोधनका लागि सुझाव दिने छ ।

बैठकमा संविधान संशोधन विधेयकमा समर्थन गर्ने नगर्ने बिषयमा छलफल भएपनि औपचारिक निर्णय भने हुन सकेन । संविधान संशोधनबारे सरकारबाट औपचारिक जानकारी आएपछिमात्र निर्णय गर्ने समझदारी भएको राप्रपा नेपालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...