Loading...

झण्डै ६ लाख नेपालीमा रहेको ‘एनोरिजम’ के हो ?

करिब दुई वर्षअगाडि अस्पतालमा एक वृद्धालाई अचेत अवस्थामा उपचारका लागि ल्याइयो । परीक्षणका क्रममा उनलाई मस्तिष्क एनोरिजम भएको देखियो । उनको सफल शल्यक्रिया पनि भयो । अस्पतालको शैयामा उनी स्वास्थ्य लाभ गरिरहेकी थिइन् । तर पाँच दिनपछि उनलाई कुरिरहेकी छोरी एक्कासी बेहोस भइन् । परीक्षणका क्रममा उनलाई पनि मस्तिष्क एनोरिजम भएको फेला प¥यो । छोरी बाहिर बेहोस भएको कुरा शैयामा सुतेकी आमालाई थाहा थिएन । पछि छोरीको सफल शल्यक्रिया भएपछि मात्र जानकारी गराइयो ।माथिको घटनाले के देखाउँछ भने नेपालमा मष्तिष्क एनोरजिमका बिरामी निकै धेरै छन् । एनोरिजमका विषयमा धेरैलाई जानकारी छैन । अन्य रोगमा जस्तो यसमा पहिलादेखि नै लक्षण नदेखिने भएकाले पनि यसको बारेमा धेरैलाई जानकारी नभएको हुनसक्छ । तर उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या हेर्दा नेपालमा एनोरिजमका बिरामीको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।

मस्तिष्क एनोरिजमलाई ‘सेरेब्रल एनोरिजम’ पनि भनिन्छ । एनोरिजम भनेको रगतको नसाको पर्खाल कमजोर भएर नसा बेलुनजस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्ने खतरा रहन्छ । अधिकांस मानिसमा जन्ँिमदै नसाको कुनै भागको भित्ता कमजोर हुने हुन्छ । एनोरिजमको समस्या हुने ९० प्रतिशतको जन्मिँदै नसाको कुनै भाग कमजोर भएको हुन्छ । १० प्रतिशतमा दुर्घटना, ट्रमा, हेड इन्जुरी, इनफेक्सन, मुटुका रोगका कारणले पनि एनोरिजम हुनसक्छ । तर ९० प्रतिशतले जन्मँदै लिएर आएका हुन्छन् । नसाको त्यही कमजोर भाग फुल्दै जाने अवस्थालाई नै एनोरिजम भनिन्छ । नेपालीमा यो समस्याको ठ्याक्कै नामाकरण भएको छैन । त्यही भएर पनि सामान्य हिसाबमा मानिसलाई बुझाउनुपर्दा यो समस्यालाई बेलुनजस्तो फुलेको नसा भन्ने गरिन्छ ।एनोरिजम फुट्यो भने मस्तिष्कघात भएर मानिसको मृत्युसमेत हुन्छ । त्यही भएर पनि एनोरिजमको सही समयमा उपयुक्त उपचार गर्न आवश्यक छ ।

कति छन् नेपालमा एनोरिजमका बिरामी ?

एक सय जनामा दुई जनामा एनोरिजमको समस्या हुन्छ । त्यो आधारमा हेर्दा ३ करोड जनसंख्या भएको हाम्रो नेपालमा ६ लाख जनामा यो समस्यामा छ । त्यसको पनि २ प्रतिशतको हरेक वर्ष एनोरिजम फुट्ने गर्छ । भनेपछि प्रत्येक वर्ष १२ हजार नेपालीको एनोरिजम फुटेर ब्रेन ह्यामरेज हुने गर्छ । ब्रेन ह्यामरेज हुने १५ प्रतिशत कारण यही एनोरिजम नै हो ।

एनोरिजम फुटेका बिरामीमध्ये १० प्रतिशतको अस्पताल नपुग्दै मृत्यु हुन्छ । त्यस्तै ३० प्रतिशतको अस्पतालमा उपचार गर्नुभन्दा अगाडि नै पुनः रक्तश्राब भएर मृत्यु हुन्छ । बाँकी ६० प्रतिशतको भने उपचार गर्न सकिन्छ । तर तीमध्ये पनि १० देखि १५ प्रतिशतमा जटीलता निम्तने गर्छ ।
जटील भएपनि एनोरिजमको समस्यालाई सरकारले प्राथमिकता नै दिएको छैन । सरकारले जहिले पनि झाडापखाला, औंलो लगायतका सरुवा रोगलाई मात्र प्राथमिकता दिँदै आएको छ । नसर्ने रोगहरुमा पछिल्लो समयमा मुटु, क्यान्सर, स्पाइनका समस्यालाई केही हदसम्म सम्बोधन गरेको देखिन्छ । तर धेरैमा जानकारी नभएको एनोरिजमको समस्यालाई पनि प्राथमिकतामा दिनुपर्ने बेला आइसकेको छ । यो समस्याको उपचार महँगो पर्ने भएकाले पनि हाम्रोजस्तो देशमा सरकारले यसको उपचारका लागि आवश्यक सहयोग गर्नुपर्छ ।

महिलामा धेरै

एनोरिजमको समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । महिलामा यो समस्या के कारणले बढी भएको भन्ने अहिलेसम्म अध्ययनले देखाउन सकेको छैन । सम्भवतः महिलाको शारीरिक संरचना तथा हर्मोनको कारणले पनि हुनसक्छ । यस्तै यो समस्या जापान र फिनल्यान्डका मानिसहरुमा अत्याधिक धेरै हुन्छ । नेपालमा कुल जनसंख्याको दुई प्रतिशतमा यो समस्या रहेको अनुमान गरिन्छ । तर जापान र फिनल्यान्डमा यो समस्या २० प्रतिशतसम्म रहेको छ । विकसित देश भएकाले उनीहरुले यसको उपचारका लागि विशेष प्राथमिकतामा राखेका छन् । यसैगरी यो रोग गोराभन्दा काला जतिमा पनि बढी देखिएको छ ।

किन जापानी, फिनिस र कालाजातिमा बढी भन्ने चाँहि अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । जापान तथा फिनल्यान्डतिर परिवारका सदस्यमा एनोरिजम छ भने पूरै परिवारलाई नै स्क्रिनिङ गराउँछन् । उनीहरुको हेल्थ प्याकेजमै त्यो पर्छ । तर हाम्रो नेपालमा स्वास्थ्य बीमा छैन । आर्थिक हिसाबले पनि धेरै मानिस गरिब नै छन् । त्यसकारण सिटि एन्जिओग्राम, एमआरआई गर्न महँगो पर्ने भएकाले थेग्न सक्दैनन् । सबैलाई स्क्रिनिङ गर्न गाह्रो छ । तर विदेशमा शंका लाग्नेबित्तिकै स्क्रिनिङ गरिहाल्छन् । हाम्रोमा पनि सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ ।

४० देखि ६० वर्षका मानिसलाई बढी

उमेरका आधारमा ४० देखि ६० वर्ष उमेर समूहका मानिसलाई यो रोग बढी लागेको भेटिन्छ । एनोरिजमको उपचारका क्रममा सबैभन्दा कम उमेरको २० वर्षको युवालाई पनि मैले उपचार गरेको छु भने ७५ वर्षको बृद्धको पनि उपचार गरेको छु । तर, उपचारका लागि आएका अधिकांस मानिसहरु भने ४० देखि ६० वर्ष भित्रका नै छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि यही उमेर समूहका मानिसलाई नै बढी भएको पाइएको छ ।

यो समस्या परिवारका कुनै सदस्यमा देखिएको छ भने उसको परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना २० प्रतिशत रहन्छ । त्यसकारण कसैको परिवारमा एनोरिजमको समस्या छ भने उनीहरुको ‘निकट आफन्त’लाई हुने खतरा रहेकाले सतर्क रहन आवश्यक छ ।

यसरी थाहा पाइन्छ

एनोरिजमको अधिकांस समस्या नफुटिकन थाहा हुँदैन । यसको लक्षण नदेखिने भएकाले पनि समस्या एकैपटक आउने भएको हो । एनोरिजममा कहिलेकाँही लक्षण देखिन सक्छ । जस्तो एकदमै टाउको दुखेको छ भने एनोरिजम भएको हुनसक्छ । कहिलेकाँही निकै थोरै रक्तश्राब भएर रोकिएको हुनसक्छ । यस्तो बेलामा जोडले टाउको दुख्छ । यस्तै धेरै टाउको दुख्ने, एकापट्टिको आँखाको परेला तल झरेको पनि हुन्छ । कहिलेकाँही अरु कुराको परीक्षण गर्ने क्रममा पनि एनोरिजम देखिन सक्छ ।

प्लेन सिटि स्क्यान वा एमआरआई गरेको भरमा एनोरिजम थाहा पाउन सकिँदैन । यसका लागि सिटि एन्जियोग्राम वा एमआरआई एन्जियोग्राम गर्नुपर्छ । विशेष परीक्षणबाट मात्र एनोरिजम थाहा हुन्छ । नेपालमा धेरै मानिस गरिब रहेका कारण समयमा नै विशेष परीक्षण गर्ने चलन छैन । जसका कारण नेपालमा धेरैजसो बिरामी एनोरिजम फुटेर आउँछन् । एनोरिजम फुट्नेबित्तिकै असाध्यै टाउको दुख्छ, केहीमा उल्टी हुने र बेहोस हुने समस्या हुन्छ । धेरै रगत जमेको छ भने प्यारालाइसिस नै हुन्छ ।

नेपालमा उपचार गर्न आउने अधिकांस बिरामी आकस्मिक अवस्थामा नै आएका हुन्छन् । कहिलेकाँही १० प्रतिशत जति मानिसहरु सहनै नसक्ने टाउको दुख्यो भन्दै पनि आएका हुन्छन् । तर ९० प्रतिशत आपतकालिन अवस्थामा इमरजेन्सीमा नै आएका हुन्छन् ।

 एनोरिजम फुट्दा के हुन्छ ?

एनोरिजम पहिलोपटक फुट्दा निकै कम रक्तश्राब भएको हुन्छ । त्यसले गर्दा मस्तिष्कमा थोरै मात्र असर गरेको हुन्छ । यदि समयमा नै उपचार भएन भने पुन रक्तश्राब हुँदा ९० प्रतिशतको ज्यान जाने खतरा रहन्छ । त्यसकारण पुनः रक्तश्राब नहोस भनेर शल्यक्रिया गर्नुपर्छ ।
एनोरिजम फुटेको सुरुको ७२ घण्टामा ४ प्रतिशत रक्तश्राब हुने सम्भावना हुन्छ । त्यसपछि २ हप्तामा १४ प्रतिशत सम्भावना रहन्छ । त्यस्तै ६ महिनामा ३० प्रतिशत रक्तश्राब हुने सम्भावना रहन्छ । त्यसकारण हामीले पुनः रक्तश्राब नहोस् भनेर र रक्तश्राब रोक्न शल्यक्रिया गर्छौँ । त्यसलाई हामी इन्डोभास्कुलन क्वालिइङ भन्छौँ । यो पद्धतिबाट उपचार गर्दा फुलेको नसामा विशेष किसिमको क्लिपिङ राखेर रक्तश्राबरोक्छौँ । त्यो क्लिपिङले पुन हुने रक्तश्राबलाई रोक्छ र ज्यान जाने सम्भावनाबाट जोगाउँछ ।

एनोरिजममा कहिलेकाँही पहिलोपटकमा नै धेरै रक्तश्राब हुने सम्भावना पनि रहन्छ । धेरै रक्तश्राब भयो भने मानिसको तुरुन्त मृत्यु पनि हुन्छ । यो संख्या करिब १० प्रतिशतको हाराहारीमा छ । रक्तश्राब हुने वित्तिकै त्यसले मस्तिष्कमा रहेका नसाहरुलाई खुम्चाइदिन्छ र साँघुरो बनाउँछ । त्यसरी साँघुरो भएको नसाले रक्तप्रवाहमा नै कमी ल्याइदिन्छ । त्यसलाई ब्रेन स्केमिया भन्छ । ब्रेन स्केमिया भएर मानिसको ज्यान जान सक्छ । अर्को मस्तिष्कमा पानी जम्ने सम्भावनाछारे रोगको लक्षण देखापर्न सक्छ । यस्तै शरीरमा सोडियम पोटासियम कम हुनसक्छ । कहिलेकाँही एनोरिजम फुट्दा मुटुका समस्या पनि ल्याउन सक्छ । तर सबैभन्दा धेरैमा देखिने समस्या भनेको नै पुनः रक्तश्राब हुनु नै हो ।

उपचारमा दुई विधि

एनोरिजम फुटेपछिको उपचारका लागि दुई वटा विधिबाट उपचार गरिन्छ । पहिलो विधि भनेको शल्यक्रियाको माध्यमबाट एनोरिजम भएको नसामा क्लिपिङ गर्ने र अर्को विधि भनेको इन्डोभास्कुलन क्वाइलिङ गर्ने हो । नेपालमा क्वाइलिङ गर्ने विधिबाट उपचार हुँदैन । यो निकै महँगो पर्छ र यसको सफलताको दर पनि कम छ । यो विधिमा नसाबाट क्याथेटर पठाएर दिमागको एनोरिजम भएको स्थानमा प्लेटियनम क्वाइल राखिन्छ । त्यो क्वाइल बेलुनमा गएर भरिन्छ । एनोरिजमको आकार र संख्याका आधारमा यो उपचार विधि झन् महँगो हुँदै जान्छ । एउटा क्वाइलको १ हजार डलर पर्छ । भारतमा गएर उपचार गर्दा करिब १५ लाखजति खर्च हुन्छ ।

शल्यक्रियाबाट क्लिपिङ राख्ने विधि भने सस्तो छ । यो विधिको सफलताको दर पनि राम्रो छ । यो विधिको सफलताको दर ९५ प्रतिशतभन्दा माथि छ । जबकि क्वाइल विधिको सफलताको दर ७० प्रतिशत मात्र छ । क्लिपिङ विधिको शल्यक्रिया वीर अस्पतालमा डेढदेखि दूई लाख रुपैयाँमा हुन्छ । क्लिपिङ विधिमा मस्तिष्कको फुलेको नसामा शल्यक्रियाको माध्यमबाट क्लिप राखेर रक्तश्राब रोक्ने काम हुन्छ ।

एनोरिजमको शल्यक्रिया निकै जटिल र तनावपूर्ण हुन्छ । एउटा शल्यक्रिया गर्न दुइ÷ तीन घण्टा लाग्छ । शल्यक्रियाका क्रममा रक्तश्राब बढ्यो भने बिरामीको मृत्युसमेत हुन्छ । असाध्यै तनाव लिएर शल्यक्रिया गर्नुपर्ने भएकाले धेरैजसो न्यूरो सर्जनले यो शल्यक्रिया नै गर्न रुचाउँदैनन् । नेपालमा एनोरिजमको शल्यक्रिया सबैभन्दा धेरै गर्नेमा म नै पर्छु । पाँच वर्षको अवधिमा ३ सय १८ वटा शल्यक्रिया गरिसकेको छु । महिनामा ७÷८ वटा सर्जरी गर्नुपर्छ । धेरै शल्यक्रिया गरेका कारण शल्यक्रियाको क्रममा हुने सफलताको दर पनि निकै राम्रो छ । शल्यक्रियाका क्रममा हुने मृत्युदर ७ दशमलव ५ प्रतिशत छ । यो भनेको निकै राम्रो नतिजा हो । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पाँच देखि ३० प्रतिशतसम्म मृत्युदर हुन्छ ।

एक व्यक्तिमा कति एनोरिजम ?

अधिकांस बिरामीमा एउटा मात्र एनोरिजम हुन्छ । तर १० प्रतिशतजतिमा एकभन्दा बढी एनोरिजम हुन्छ । शल्यक्रियाका क्रममा एउटै व्यक्तिमा ५ वटासम्म एनोरिजम भेटेको छु । अन्तर्राष्ट्रिय लिटरेचरमा हालसम्म ७ वटासम्म भेटिएको कुरा उल्लेख छ । एउटाभन्दा धेरै एनोरिजम हुनु भनेको खतरा बढी हुनु हो । जति धेरै एनोरिजम हुन्छ त्यति नै शल्यक्रिया गर्न समस्या पर्छ । एउटै व्यक्तिमा तीन पटकसम्म शल्यक्रिया गर्नुपरेको छ । मस्तिष्कको कुन ठाँउमा कतिवटा एनोरिजम छन् त्यसका आधारमा उपचार निर्भर रहन्छ ।

एनोरिजममा के कारणले रक्तश्राब हुन्छ भन्नेमा प्रमुख दुई जोखिमका कारण देखिएको छ । त्यो भनेको धुम्रपान र उच्च रक्तचाप नै हो । अन्य सहायक जोखिममा व्यायाम नगर्ने, मदिरा सेवन गर्ने, कहिलेकाँही यौनसम्पर्क गर्ने क्रममा पनि फुट्ने गरेको पाइन्छ । त्यसकारण उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ । धुमपान, मद्यपान छाड्नुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ । परिवारमा कसैलाई भएको छ भने त्यस्ता परिवारका मानिसलाई जीवनशैलीलाई राम्रो बनाउने र खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । कसैको शल्यक्रिया भएको छ भने त्यसपछि उनीहरु सामान्य जीवनमा फर्कन सक्छन् । तर उनीहरुले रक्तचाप नियन्त्रण, धुमपान नगर्नेजस्ता काम भने गर्नुपर्छ ।स्वास्थ्य खबरपित्रकाबाट

यसमा तपाइको प्रतिक्रिया

Loading...