Loading...

विराटनगरमा ४५ अनुदानग्राहीलाई सम्झौता पत्र प्रदान, १९ करोड लगानी हुने

काठमाण्डौं मंसीर ९ । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले मंसिर ९ गते पूर्वाञ्चलका ४५ अनुदानग्राहीहरुलाई अनुदान सम्झौता पत्र प्रदान गरेको छ । आयोजनाले विराटनगरमा अनुदान सम्झौता हस्ताक्षर एवं उपआयोजना कार्यान्वयन कार्यशाला आयोजना गरी उक्त सम्झौता पत्र प्रदान गरेको हो ।
आयोजनाका तर्फबाट पूर्वाञ्चलका ६ जिल्लाहरु उदयपुर,खोटाङ, सिराहा, सप्तरी, झापा र सुनसरीका संंस्थाहरुलाई पूरक अनुदान वापत १८ करोड ७५ लाख लगानी गरिने छ । अनुदानग्राहीहरुका तर्फबाट ३१ करोड गरी कृषिको व्यवसायीकरणमा जम्मा ४९ करोडभन्दा बढी लगानी हुने आयोजना निर्देशक डा. गोविन्दप्रसाद शर्माले बताउनुभयो । उहाँले अनुदानग्राहीहरुलाई बधाइ दिँंदै समयमै उपआयोजना सम्पन्न गरी कृषि क्षेत्रको व्यवसायिकरणमा सहयोग गर्न पनि सुझाव दिनुभयो । समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गरी दाताहरुलाई अन्य यस्तै आयोजना सञ्चालनका लागि बाटो खोल्न पनि सुझाव दिनुभयो ।
अनुदानग्राहीहरुले मासु तथा मासुजन्य पदार्थ, दुध, माछा र तरकारी गरी ४ वटा मूल्य शृंखलामा आवद्ध साना किसान , कृषि क्षेत्रमा कार्यरत सहकारी तथा व्यवसायीहरुलाई अनुदान प्रदान गर्न लागिएको हो ।
अनुदानग्राहीमध्ये ३४ संस्था साना अनुदानका लागि र ११ संस्था मझौला अनुदानका लागि सम्झौतामा जोडिएका छन् । साना अनुदानका लागि बढीमा ३५ लाख रुपैयाँ र मझौला अनुदानका लागि बढीमा एक करोड रुपैयाँसम्म पूरक अनुदान प्रदान गर्ने प्रावधान छ ।
पूर्वाञ्चलबाट जम्मा २ सय ९५ संघसंस्थाले आवेदन दिएकोमा ४८ संस्था अनुदानका लागि छनोटमा परेका थिए । तीमध्ये ३ वटा संस्थासम्झौतागर्न नआएको आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय विराटनगरले जनाएको छ ।
कार्यशालालाई पूर्वाञ्चलका क्षेत्रीय कृषि निर्देशक ताराकुमार श्रेष्ठ,निमित्त क्षेत्रीय पशुसेवा निर्देशक डा.मणीकुमार श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।

pact-2
कार्यशालाको सञ्चालन आयोजनाका वरिष्ठ योजना अधिकृत दिनेशप्रसाद सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे आयोजनाका प्राविधिक सल्लाहकार डा. प्रभाकर पाठकले गर्नुभएको थियो । अनुदानग्राहीहरुका प्रतिनिधीले पनि आआफ्ना समस्या राख्दै समयमै उपआयोजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसअघि मंसिर ५ गते नेपालगञ्जमा यस्तै कार्यशाला आयोजना गरी सुदुर र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १२ संस्थालाई अनुदान सम्झौता हस्तान्तरण गरिएको थियो । उक्त क्षेत्रमा दुध तथा मासुजन्य पदार्थको उत्पादन, प्रशोधन तथा बजारीकरण उपआयोजनाहरु सञ्चालन गरिने छन् ।
क्याप्सन ः अनुदान पुस्तिका हस्तान्तरण गर्दै व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक डा. गोविन्द प्रसाद शर्मा (दायाँ ) र अर्को तस्बिरमा कार्यशालालाई समबोधन गर्दै डा. शर्मा ।

यसमा तपाइको प्रतिक्रिया

Loading...