Loading...

राप्रपा र राप्रपा नेपालबीच पार्टि एकिकरणको घोषणा

काठमाण्डौ ६ मंसिर ।

लामो समयको कसरतपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकिकरणको घोषणा भएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरि दुई पार्टीले आज एकिकरणको घोषणा गरेका हुन् । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ भने झण्डा राप्रपा नेपालको कायम गरिएको छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको माग बोकेको राप्रपा नेपाल तथा गणतन्त्र स्विकारेको राप्रपाबीच गत भदौं पहिलो सातामा नै एकीकरण हुने तय भएपनि राप्रपा सरकारमा सहभागी भएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

पार्टी एकिकरण घोषणा सभामा बोल्दै नेताहरुले एकिकृत पार्टीले अबदेखि हिन्दु राष्ट्र बनाउन पहल गर्ने बताएका छन् । अब राप्रपालाई देशको प्रमुख राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उनीहरुको उद्ध्घोष छ ।

एकीकृत राप्रपा ३७ सदस्य सहित संसदको चौथो ठूलो शक्तिका रुपमा रहनेछ । जसको कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा रहनुभएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनी वरिष्ठ नेता रहनुभएको छ ।

पार्टिले दुई अध्यक्ष सहित उपाध्यक्ष, सचिव लगायत पदाधिकारीमा दुवै पार्टीका तर्फबाट २ जना सदस्य रहने गरी ३ सय सदस्यीय कार्यसमिति समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

आगामी माघमा एकीकृत पार्टीको महाधिवेशन गरेर सबै बिषय टुङ्गो लगाइने कार्यक्रममा जनाईएको थियो ।

राप्रपा कार्यकारी अध्यक्ष कमल थापाले एकताले बैकल्पिक मार्गचित्रका साथ एउटा प्रजातान्त्रिक शक्ति खडा भएको भन्दै मुलुकले भरोसा गर्न सक्ने, दुरगामी सोचाई र अनुभव बोकेको पंक्ति पार्टीमा रहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्नेमा जोड दिनुभयो । नेपाल धर्मनिरपेक्ष हुन नसक्ने भन्दै उहाँले त्यसका लागी जनमत संग्रह गर्न माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...