Loading...

दर्ता तथा नविकरणका लागि आउने क्लिनीकको संख्यामा दश गुणा बृद्धी

 काठमाडौं । स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन सुरु गरेपछि दर्ता तथा नविकरणका लागि निवेदन दिने क्लिनीक तथा फार्मेसीहरुको संख्या अत्याधिक बढेको छ । अवैध रुपमा सञ्चालन हुदै आएका क्लिनीक तथा फार्मेसीहरुलाई धमाधम सिलबन्दी गर्न थालेपछि अहिले जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा दर्ता तथा नविकरणका लागि निवेदन दिनेहरुको संख्या एकाएक बढेको हो ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले खटाएको स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय प्रहरी लगायतका विभिन्न निकायको संयुक्त टोलीले गत कात्तिक २९ गते देखि काठमाडौ र ललितपुर जिल्लामा अनुगमन गरेका छन् । ६ दिनमा झण्डै दुई सय ओटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन गर्दा तीन दर्जन जति अवैध भेटिएकाले तालाबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तालाबन्दी हुनेमा अधिकांश क्लिनीकहरु रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौमा अनुगमन सुरु भएपछि दर्ता तथा नविकरणका लागि निवेदन दिने क्लिनीकहरुको संख्यामा झण्डै १० गुणा बृद्धी भएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठले पहिला पहिला हप्तामा ४, ५ ओटा मात्रै निवेदन आउने गरेकोमा अहिले दैनिक २० ओटा सम्म आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कार्यालयमा अहिले क्लिनीक सञ्चालकहरुको भिड लाग्न थालेको छ, खुट्टा टेक्ने ठाउ छैन । अनुगमनले निकै प्रभाव पारेको देखिएको छ ।” पुर्वाधार निर्माणका लागि स्विकृति लिन, पुर्वाधार अवलोकन गरेर संचालन अनुमती लिन र नविकरणका लागि निवेदन दिनेहरुको सख्या अत्याधिक रहेको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रशासक श्रेष्ठले पुर्वाधार निर्माण गरेर संचालनका लागि स्विकृति माग्नेहरुको पुर्वाधारको अनुगमन गर्नु पर्ने काम पनि एकाएक बढेकाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई भ्याई नभ्याई भएको बताउनु भयो ।

श्रोत साधन र जनशक्तिको कमीले गर्दा निवेदन दिएकाहरुलाई तत्काल स्विकृति दिन सकिने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा पनि अनुगमन हुन थालेको खवर पाएपछि त्रसित भएका र सिलबन्दी गएका क्लिनीकहरु अहिले दैनिक झण्डै १३ ओटाको दरले आउन थालेका छन् । “दर्ता तथा नविकरणका लागि आउनेहरुको संख्या थामिनसक्नु भएको छ,” जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले भन्नुभयो । क्लिनीकहरु दर्ता भएर नियममा बाधिएपछि जनताले गुणस्तरिय सेवा पाउनुका साथै राज्यकोषमा पनि ठुलो मात्रामा राजश्य संकलन हुने भएको छ ।

मन्त्रालयलाई संवन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार काठमाडौमा ४१५ ओटा, ललितपुरमा १७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक मात्र दर्ता भएका छन् । काठमाडौ उपत्यकामा झण्डै १६ सयको हाराहारीमा दर्ता नभएका क्लिनीकहरु रहेको अनुमान गरिएको छ । मन्त्रालयले अहिले जारी अनुगमन दुई हप्ता सम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधार छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वमसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ । कुनै निजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...