Loading...

पुनरनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै

काठमाडौ ५ मंसिर ।
भूकम्पपछिको पुनरनिर्माणमा भइरहेको प्रगति समिक्षा गर्न पुनरनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दैछ । बैठकमा प्राधिकरणले दुई वर्षभित्रमा १० लाख अवास निर्माण गर्ने योजना सहित बनाएको कार्यतालिका पेश गर्ने तयारी छ ।

बैठक दिउँसो दुई बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा बोलाइएको छ । नितिगत समस्या समाधान गर्न भन्दै यसअघि पटक पटक समितिको बैठक बोलाइएपनि प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारण बस्न सकेको थिएन ।

आजको बैठकमा पुनरनिर्माण प्राधिकरणले तयार पारेको कार्यतालिकाका साथै जोखिमका बस्ती स्थानान्तरण र एकिकृत बस्ती विकास, चालु आर्थिक वर्षका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन, पुनरनिर्माण सामुदायिक समिति गठन लगायतका विषयमा छलफल हुने जनाएको छ ।

पुनरनिर्माणले गति लिए दुई वर्षभित्र निजी आवास, एक वर्षमा स्वास्थ्य संस्था र तीन वर्षभित्र विद्यालय निर्माण गरिसक्ने गरी कार्यतालिका तयार पारेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

प्राधिकरणको कार्ययोजनामा पुरातात्विक धरोहरको पुनरनिर्माण, काठमाडौ उपत्यकाभित्र अनुदान वितरण र भूकम्पबाट प्रभावित १७ जिल्लामा सर्वेक्षण र अनुदान वितरण गर्ने लगायतका विषय समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...