Loading...

कफिलाई एउटा प्रमुख नगदेबालीको रुपमा लिने गरेको छु : घिमीरे

नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरिएको थियो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो सम्भावना देखिएपछि मात्र नेपालका धेरै जिल्लामा व्यवसायीक कफी खेतीको शुरुवात भएको मान्न सकिन्छ । नेपालको विषेशतः मध्य पहाडी जिल्लामा कफि खेती गरिबी निवारण, रोजगारी सृजना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रुपमा स्थापित हुँदै आएको छ । नेपालको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाईएको कफि गुणस्तरीय कफिको रुपमा उत्पादन भई विदेश तर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली कफिको माग दिनानुदिन बढ्दै गई राखेको परिप्रेक्षमा कफि उत्पादन क्षेत्रको बिस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ । हामीले कफिकै सेरोफेरोमा कफीको विकास प्रवद्र्धनमा विगत ३२ बर्षदेखी अनवरत रुपमा लागिरहेका नेपाल कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा नेपाल अर्गानिक कफी प्रोडक्टका संचालक ढकेश्वर घिमिरेसँग समग्र कफी क्षेत्रको बिषयमा केहि जानकारी लिने प्रयास गरेका छौँ, प्रस्तुत छ सोहि कुराकानी :
कफीलाई यहाँले कसरी लिनुहुन्छ ?
नेपाल कृषिप्रधान देश हो । यहाँ बिभिन्न खेतीबालीको खेती भैरहेका छन् भने केही नयाँ बालीहरुको पनि सम्भावना रहेको छ । यिनै खेतीबालीका बीच कफी खेती एक नगदेबालीको रुपमा फस्टाएको र नेपालीको भविष्य उन्नत हुने बाली हो । खासमा मैँले कफिलाई एउटा प्रमुख नगदेबालीको रुपमा लिने गरेको छु ।
तपाँइ खासमा कफीको क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
प्रश्नको लागि धन्यवाद, खासगरी यहाँले सोध्नुभएजस्तै जीन्दगीको अन्तरालमा दुःख र सुखको कुरा धेरै हुन्छन् । तथापी दुःख नगरी सुख नहुने रहेछ, पारिवारिक अवस्था कमजोर भएको कारणले आफुले सोचेजस्तो निरन्तर पढाइ गर्न सकिएन, एस.एल.सी पास गरिसकेपछि आइ.ए, बि.ए., बि.एड्., एम.ए.सबै अध्ययनहरू स्व. अध्ययन गरेर प्राइभेट परीक्षा दिएर पास गरेँ । हाम्रो पाल्पाको मदनपोखरा, मेहनत र श्रृजनशिल काम गर्ने बिचारको मानिसको बाहुल्यता भएको ठाउँ हो र म मा पनि केही नँया काम गर्नुपर्छ भन्ने सोच आयो । शुरूका दिनमा हाम्रो घरमा पनि परम्परागत रूपमा खेती गर्ने प्रणाली थियो, धान मकैको खेती गरिन्थ्यो र जग्गा जमिन प्रशस्त भएपनि व्यवसायिक सोच थिएन । मैले शारदा उच्च मा.विमा २०३१ सालदेखि पढाउन शुरू गरेँ र यो क्रम ३१ बर्ष सम्म रह्यो । यसै गरी ८ वर्ष कलेजमा पनि पढाएँ । त्यति गर्दा गर्दै पनि मलाइ कृषि क्षेत्रमा केही गरौँ भन्ने लागेर तरकारी, फलफूल आदि रोपेँ । २०३५ सालमा केहि कफीका बिरूवाहरू ल्याएर रोपेँ र त्यो राम्रोसँग फलेको अवस्था थियो । दुर्भाग्यवश २०३८ साल असोज १३ गते आएको बाढीले हाम्रो बारीमा लगाएका फलफुल र खेतीबालीहरू नष्ट भयो र करिब ४० रोपनी जग्गा मरुभुमी तुल्य भयो । हाम्रो लागि त्यो भन्दा ठुलो विपत्ति के हुन सक्थ्यो र ? तथापी हरेश नखाएर केही गर्नुपर्छ भन्ने सोचले एउटा योजना बनाएर २०३९ सालमा डाले घाँस, फलफुल, कफी आदि लगाएर शुरूवात गरियो । काम गर्ने क्रममा धेरै कठिनाइहरू आए, हिम्मत नहारेर ती कामलाइ हामीले अगाडी बढायौँ । परिवार र इष्टमित्रको सहयोग पनि पाएको कारणले काम गर्न सजिलो भयो । पहिरो गएको ठाउँमा सबै मिलेर वृक्षारोपण गर्ने काम भयो र पहिरो पनि बिस्तारै नियन्त्रण हुँदै गयो । घरमै नर्सरी राख्ने काम गरेर आफ्नो बारीमा कफी लगायतका बिरूवा लगाएँ र अरू गाउँले दाजुभाइलाइ पनि लगाउने प्रेरणा दिएँ ।

तपाँई कफी व्यवसायी संघको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ, संस्थापक अध्यक्ष हुँदा तपाँईलाई विभिन्न जिल्लाका व्यक्तिहरूलाई कसरी समेट्ने प्रयास गर्नुभयो ?

म आफ्नै इतिहासमा फर्किन चाहन्छु । जब मेरो फर्म हेर्नको निमित्त देश विदेशबाट मानिसहरू आउनुभयो र उहाँहरू मरुभुमी भएको जमिन पुनः हराभरा भएको देखेर अचम्म मान्नु भयो । त्यसपछि हामीले अर्गा्निक फार्मिङको सोच बनायौँ । त्यो बेलमा मानिसहरूले अर्गा्निक फार्मिङको कुरामा विश्वास गर्नुभएन र अहिले यसको संभावना छैन भन्ने जस्ता कुराहरू गर्नुभयो । तर पनि यो कुरा सबैलाइ बुझाएर गाई बस्तुको पिसाब, गोबर आदि प्रयोग गर्न थालियो । २०४६ सालदेखि हाँडी कराइमा भुटेर कफि प्रसोधनको काम सुरू गरियो । आउने मानिसहरूलाई आफ्नो कफिको स्वाद चखाउने, प्याकेटहरू बेच्ने काम गरियो ।

यो काम एक्लैले गरेर हुँदैन, सबैलाइ यसको जानकारी दिनुपर्छ भन्ने बिचारले एउटा संगठन बनाएर अघि बढ्ने सोच आयो । मदनपोखराका २५ जना साथीहरूलाइ समुहमा बाँधेर अर्गा्निक कफीलाइ बिस्तार र अवसर सिर्जना गर्ने तर्फ अगाडी बढाइयो । कफि व्यवसायी संघ मदन पोखरा नामक संस्था २०४७ कात्तिक ३० गते स्थापना गरियो र त्यही संगठनको बिस्तृत स्वरुप २०४८ सालमा पाल्पाको जिल्ला स्तरीय कफि संगठन बनाइयो । अर्गानिक सोचका साथ काम गर्ने हुनाले कठिनाइ त पक्कै पनि हुने भयो मानिसहरूलाइ बुझाउन गाह्रो भयो । त्यस पछि देशका धेरै ठाउँमा कफि उत्पादनमा बृद्धि हुनथाल्यो । यसलाई अझै संगठित गर्ने बिचार त आइरहेकै थियो, अर्गानिक सोचलाइ कसरी व्यवहारिक रूपमा लैजाने भन्ने कठिनाइ त छँदै थियो, प्रविधि र बजारका कुरा पनि संगै आइरहेको थियो ।

यसै कुरामा अगाडी बढ्न सरकारसँग सहयोग मागियो र कफिको न्यूनतम मूल्य निर्धारण, तालिम, प्रविधि आदि कुरामा सहजता ल्याउन राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड २०४९ को ऐन अन्तर्गत चियासंगै कफिलाई पनि मिसाएर अगाडी बढाउने काम भयो । अर्गानिक पद्धतीको कुरा प्रमुख थियो र त्यसको लागि यही संगठनको माध्यमबाट मेरो नेतृत्वमा एल् साल्भाडोरबाट रोस्टिङ र बिरूवा रोप्नको लागि विशेषज्ञहरू २०५४ सालमा पाल्पाको मदन पोखरामा ल्याएर तालिमको आयोजना गरियो । त्यो तालिम गर्दा केही नेपालका कर्मचारीहरूबाट समेत विरोध भयो । त्यो पिडा नै मेरो लागि जिन्दगीको सबैभन्दा ठुलो पिडा थियो ।

उहाँहरूले विदेशीहरूको अगाडी नै यो सम्भव छैन भनेर हस्तक्षेप गर्ने काम गर्नु भयो । किसान साथीहरू साथै ४ जना अधिकृत तहका कर्मचारी र ८ जिल्लाका ४२ जना अगुवा साथीहरू सबैको सहयोगले त्यो तालिम एकदमै फलदायी भयो । संसारका २७ जातका कफि ल्याएर टेक्निसियन साथीहरूले टेस्टिङ गराउनुभएको थियो । नेपालको कफि विश्वको उत्कृष्ट सात स्थानमा पर्यो । एल् साल्भाडोर र मेक्सिकोको कफिसँग हाम्रो कफि मिल्न गयो, त्यो नै हाम्रो लागि धेरै खुसीको खबर थियो ।

पाल्पाको मदनपोखराबाट शुरू भएको कफि व्यासाय, अहिले देशका कति जिल्लामा फैलिएको छ ?
अहिले सोह्र जिल्लामा संगठनात्मक रूपमा अगाडी बढी रहेको छ । २०५४ साल पछि नेपाल कफि व्यवसायी संघ केन्द्रिय समिति भनेर बनाइयो । सबै साथीहरूको सल्लाहबाट पाल्पा जिल्लाले मात्र पुग्दैन, अरू जिल्लामा पनि बिस्तार गर्नुपर्छ भनेर विभिन्न जिल्लामा बिरूवा, प्रविधि र बजारीकरणको बाटोहरू पनि बढाउने काम गरियो । २०६५ साल सम्ममा म नेपाल कफि व्यवसायी महासंघको अध्यक्ष रहँदा २७ हजार किसान परिवारहरू र १४ वटा जिल्लामा कफि व्यवसाय शुरू भएको अवस्था थियो ।

अहिले प्रशोधन गरिएको कफी देशमा मात्रै बजारीकरण गरी रहनुभको छ कि विदेशमा पनि निर्यात गर्नुहुन्छ ?

हामीले शुरूवात गर्दा धेरै चुनौती र कठिनाइहरूलाई पार गरियो र यस अवस्थामा आइपुग्दा अर्गा्निकको लोकप्रियता निकै नै बढेको छ र अर्गा्निक लहरलाई विभिन्न जिल्लामा लिएर गएका छौँ । त्यही टक्नोलोजिलाइ आधार बनाएर किसानहरूले उत्पादन गर्नु भएको छ र अरू उध्योगीहरूले पनि त्यही कफि ल्याउनुहुन्छ । २०५८ सालतिर म महासंघको अध्यक्ष हुँदा देशको स्थितिले गर्दा विदेशीहरूको आगमन कम भएकाले कफि बिकेन र निकै गाह्रो भयो र म महासंघको अध्यक्षको हिसाबले अर्को एउटा कम्पनि खोलेर अमेरिकन खरिदकर्तालाई ल्याइयो । नेपालको कफि राम्रो त थियो तर टेक्नोलोजी सुधार गर्न २०५८ सालमा चिसो प्रसोधनमा आधारित कफिको शुरूवात गरियो र त्यो कफिलाई अमेरिका तर्फ पठाइयो । अन्य कफिलाई पनि २०६१ सालबाट अमेरिका पठाउन थालियो । नेपालको कफि मिठो, बासनादार, राम्रो भएको कुरा संसारको धेरै ठाउँमा फैलियो । अहिले माग धेरै छ तर आपुर्ती धेरै कम भएको अवस्था छ, आपुर्ती ५०० टन छ तर माग भने ७००० टन रहेको छ र नेपालले माग पुर्याउन नसकेको अवस्था छ ।

माग धान्न नसकेको अवस्थामा नेपालका किसानहरूलाइ यसको बारेमा थप जानकारी दिएर यो व्यवसायलाइ अझै व्यवस्थित बनाएर अगाडी बढाउन सकिँदैन र ?

यस व्यवसायमा अवसर छ, ४० जिल्लामा ९ लाख हेक्टरमा कफि खेती गर्न सकिन्छ तर सरकारको अस्थिरता, राजनैतिक विभाजनले गर्दा आएको नीति पनि लागु नभएको अवस्था छ । नेपालमा साना किसानहरूको सङ्ख्या बढी छ र उहाँहरूसँग जग्गाहरू पनि कम छ, जग्गाहरू भिराला छन् । तिनीहरूलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।

उपयोग नभएका व्यक्तिगत र सरकारी जग्गाहरू लिजमा लिने, सार्वजनिक जग्गाहरू लिजमा लिने कुरामा लिज ऐन कार्यान्वयन भएको छैन र वन, भूमिसुधार, कृषि यी तीनवटा कुराहरूमा समन्वय नभएको कारणले सार्वजनिक वनमा कपीm लगाउन सक्ने अवस्था छैन । यसै कारणले कफीलाइ व्यवस्थित तरीकाले अगाडी बढाउन नसकेको अवस्था छ ।
अन्त्यमा केहि भन्नुहुन्छ कि ?
मलाई के लाग्छ भने हरेक व्यक्तिले आफ्नो मनमा लागेको व्यवसाय, व्यवसायीक र संगठीत किसिमले अगाडी बढायो भने अवश्य सफल हुन्छ । तपाँईहरूको एग्रो टाइम्स मिडिया नेटवर्कले पनि अझै राम्रो सन्देश नेपाल र सम्पुर्ण विश्वलाई प्रदान गर्न सकोस् र तपाँईहरूको मिडिया मार्फत सरकारको पनि ध्यान केन्द्रित हुन सकोस् भन्न चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया

Loading...