Loading...

बागमती सफाइ अभियान आजपनि जारी

काठमाडौं , ४ मंसिर ।

बागमती सफाइ महाअभियानको १८४ औँ हप्ताको सरसफाई अन्तरगत आज पनि थापाथली पुलमुनिको ललितपुर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

मुख्यसचिव सोमलाल सुवेदीको उपस्थितिमा आज भएको सफाईमा बागमती किनारका घर घर छिरेर नदीमा फोहर नफाल्न, फाल्नेलाई कारबाहीका लागि नगरपालिकामा बुझाउन र नदी सफाइमा सहभागी हुन अनुरोध समेत गरिएको थियो ।

सफाई कार्यक्रममा सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, पूर्वसचिव केशव भट्टराई ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

यस्तै रुद्रमती (धोबीखोला) सफाइको १४३ औँ हप्तामा आज रातोपुलदेखि सेतोपुलसम्मको नदीभित्र सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

आजको रुद्रमती सफाइमा विप्लव माओवादीको भ्रातृ संस्था राष्ट्रका लागि युवा सङ्गठनका युवाहरु पनि सहभागी भएका थिए । रुद्रमती सफाइ अभियानले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी पशुपति भण्डारखाल क्षेत्रमा फोहर थुपार्नेस्थल निर्माण गर्ने तयारी समेत गरेको छ ।

विष्णुमती सफाइको ११७ औँ हप्तामा आज परोपकारपुलमुनि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी वीजेन्द्र लामाले जानकारी दिनुभयो ।

यसैगरी नख्खु खोला सफाइको ६५ औँ हप्तामा आज दिव्यनगरदेखि सनराइज अपार्टमेन्टसम्म सफाइ गरीएको छ । त्यहाबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

नख्खु खोला सफाइ अभियानमा विश्व सफाइ अभियानका अभियानकर्मीद्वय राजमान मानव र सुशीला महर्जन पनि सहभागी हुनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...