Loading...

नेपाल चीन पारवहन सन्धि कार्यान्वयन प्रोटोकलको बैठक आज पनि ल्हासामा जारी

काठमाडौ ३ मंसिर ।  

तिब्बतको ल्हासामा दुई दिनअघि सुरु भएको नेपाल चीन पारवहन सन्धि कार्यान्वयन प्रोटोकलको बैठक आज पनि जारी छ । बैठकमा नेपालले प्रस्तुत गरेको प्रोटोकलको मस्यौदामाथि छलफल भइरहेको बताइएको छ ।

बैठक दुई दिनअघिबाट सुरु भएपनि औपचारिक छलफल भने हिजोबाट मात्र सुरु भएको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले जानकारी दिनु भयो । बैठकमा प्रोटोकलमा के–के शीर्षक रहने भन्ने विषयमा नेपालले प्रस्ताव राखेको र त्यस विषयमा आजको बैठकमा पनि छलफल हुने कार्कीले बताउनु भयो ।

पारवहनको प्रोटोकलको मस्यौदा नेपाली पक्षले चिनियाँ पक्षसमक्ष प्रस्तुत गरेपनि कुन बन्दरगाह प्रयोग गर्नु नेपालका लागि नजिक र मितव्ययी हुन्छ भन्नेबारेमा भने छलफल हुन बाँकी रहेको जनाइएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष भएको चीन भ्रमणका क्रममा नेपाल चीन पारवहन सन्धिमा हस्ताक्षर भएको थियो ।

बैठकमा नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजूको नेतृत्वमा वाणिज्य मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा कानुन मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको छ । चीनका तर्फबाट यातायात मन्त्रालयका अधिकारीहरू बैठकमा उपस्थित छन् ।

चीनसँग सन् १९९४ मा नेपालबाट चीन हुँदै नेपाल सामग्री ढुवानी सम्बन्धी सम्झौता भएको थियो भने त्यही वर्ष त्यसको प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि सन् २००५ मा अर्को प्रोटोकलमा हस्ताक्षर भएको थियो । नेपालको हिमाली क्षेत्रबीच सडक सम्पर्क नभएकाले नेपालले चीनको बाटो प्रयोग गर्दै आएको छ ।

यसअघि नेपालबाट खासा हुँदै चिनियाँ बाटो प्रयोग गरी नेपालका हिमाली क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने गरिएको थियो । भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै रसुवागढीबाट केरुङको बाटो प्रयोग गर्न नेपालले नयाँ प्रोटोकल प्रस्तुत गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...