Loading...

नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय :उप्रेती

काठमाडौं, मंसिर २ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको बताउनु भएको छ ।
विहीबार आयोजित कार्यक्रममा उप्रेतीले गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले सो निर्णय जानकारी दिनुभयो ।

उहाले नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भएपनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइने बताउनु भयो ।

नेपाली भाषा बचाउ आन्दोलनलगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा। डा। चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सोसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

यसैबीच, प्रतिष्ठानअन्तर्गत् दर्शन विभागले अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा विहीबारै आयोजना गरेको अन्तरक्रियामा अहिलेको नयाँपुस्ताले दर्शनका उपयोगितालाई थप खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिइयो ।

विद्वान् काशीनाथ न्यौपानेले बौद्धदर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत् गर्दै नेपाली समाजको विकासमा प्राचीन दर्शनको महत्व रहेकाले त्यसलाई अहिलेको पुस्ताले गहिराइमा बुझ्न खाँचो रहेको औंल्याए ।

विभागका प्रमुख प्रा। दिनेशराज पन्तले विश्व परिवेशमा तत्व ज्ञान तथा व्यावहारिक ज्ञानको गहिरो खोजी पूर्वीय दर्शनमा पाइने बताउँदै यसबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...