Loading...

सरकारले ताक्लाकोट नाका खोल्न चीनसँग पहल गर्ने

मंसीर २, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ ।

आज बझाङबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको महत्वपूर्ण नाकाको रुपमा रहेको ताक्लाकोट नाका खोल्न पहल गर्ने बताउनुभयो ।

प्रतिनिधिमण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै उनले सम्बन्धित मन्त्रालय र विभागका अधिकारीलाई बोलाएर यसबारे छलफल गर्ने र चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुरा गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय टोलीले प्रधानमन्त्रीसँग भेट गरी जिल्लाका विकास निर्माण र जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको हो ।

टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । टोलीले जिल्ला दैवी प्रकोप कोषमा रकमको अभावले तत्काल उत्पन्न हुने समस्या सम्बोधन गर्न नसकिएको भन्दै केन्द्रीय दैवी प्रकोप समितिबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...