Loading...

अंगिकृतलाई संवैधानिक प्रमुख बनाउनुपर्छ भन्ने हाम्रो माग होइन : यादव

काठमाण्डौ, मंसिर २ । मधेसी मोर्चाका नेता एवम् तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगिकृत नागरिकलाई संवैधानिक प्रमुख बनाउनुपर्छ भन्ने माग आफूहरुको नरहेको स्पष्ट पार्नु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा यादवले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख वा कुनै पनि संवैधानिक अंगको प्रमुख अंगिकृत नागरिकता भएकालाई बनाउने मोर्चाको माग नभएको बताउनु भएको हो ।

यी सबै अफवाह फैलाउनका लागि ल्याइएको तर्क भएको उहाँको दाबी छ । उहाँले मधेस आन्दोलनलाई कमजोर पार्न र मधेसीलाई बदनाम गराउन षड्यन्त्र गरिएकोसमेत आरोप लगाउनुभयो । तर नगरिकता समस्याको समाधान अन्तरिम संविधान अनुसार नै हुनुपर्ने माग उहाँको थियो ।

उहाँले आफूहरुले भूमि र पहिचानको लागि संघर्ष गरेको भन्दै आफूहरुले भनेजस्तै गरी संविधान संशोधन मार्फत माग पूरा हुनुपर्ने जिकिर गर्नुभयो ।

यादवले गठबन्धनले दिएको १५ दिने म्यादभित्रपनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...