Loading...

भ्रष्टाचार मुद्धामा ल्हारक्याल लामाले पाए सफाई

काठमाण्डौ ,३० कार्तिक ।
नेकपा माओवादी केन्द्रका सांसद रहेका ल्हारक्याल लामालाई अकुत सम्पत्ती आर्जन मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । अन्तिम फैसला सुनुवाइ विशेष अदालतले आज भ्रष्टाचारको मुद्दामा सफाई पाउने ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० लामा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई न्यायाधीशहरु प्रभा वस्नेत र महेशप्रसाद पूडासैनीको इजलाशले लामाले अवैध रुपमा आर्जन गरेको भनी अख्तियारले दावी गरेको सम्पत्ति भन्दा धेरै सम्पत्तिको स्रोत पुष्टि गरेको भन्दै सफाइ दिने फैसला सुनाएको हो ।

विभिन्न समय लिएको राजनीतिक नियुक्तिबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
गुम्बा व्यवस्थापन समिति अध्यक्ष, अर्थ राज्यमन्त्री र सभासद भएका लामाले ९ करोडभन्दा धेरै रकम गैरकानुनी स्रोतबाट आर्जन गरेको भन्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको थियो ।

लामा २०५८ साल पुस १९ मा नेपाली कांग्रेसको सिफारिसमा गुम्बा विकास समिति अध्यक्ष भएका थिए । त्यसपछि एमाले सरकारको नेतृत्वमा अर्थ राज्यमन्त्री भए । मन्त्री छँदै दोहोरो नागरिकता लिएको भन्दै विवाद चर्केपछि राजीनामा दिए । एमाओवादीबाट संविधानसभा सदस्य मनोनय भएका लामा पछिल्लोपटक बैंक लकरमा गोली भेटिएपछि विवादमा तानिएका थिए ।

आर्थिक वर्ष २०५८।०५९ देखि २०७२।०७३ सम्मको अवधिमा लामाको आम्दानीको स्रोत पुष्टि हुन नसकेको दाबी अख्तियारको छ । तलबभत्ता, जग्गा बिक्री, ऋण तथा सापटीसमेत गरी उनले पेस गरेको सम्पत्ति विवरणअनुसार ९ करोड ४४ लाख ७२ हजार रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...