Loading...

हुम्लीहरु स्थानीय उत्पादन बढाउने सम्बधमा केन्द्रित

काठमाडौ, २९ कार्तिक
कृषि र खाद्य सुरक्षामा हुम्लाको अवस्था र विकासका सम्बन्धमा काठमाडौमा ब्यापक छलफल भएको छ । संवाद डवलीले हुम्ला विकास परियोजनासँग सहकार्य गरी आयोजना गरेको कार्यक्रममा सरोकारवालाले भने, ‘हुम्लामा अर्गानिक अन्न उत्पादन गरी तिब्बत निर्यातको भारी सम्भावना रहेकोले राज्यले वस्ती ब्यवस्थापन तथा कृषि उत्पादनमा जोड दिनपर्दछ ।’
ग्रामिण विकास सास्त्री दीपेन्द्र रोकायाले हुम्लाको स्थानीय अन्न, तरकारी र फलफुलको विउमा सुधार र खानपानमा ब्यापक जागरण आएको दावी गरे । ‘त्यो काम कृषि सहकारी मार्फत भइरहेको छ’ उनले भने । कृषि र खाद्य सुरक्षामा हुम्लाको अवस्था र विकाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै रोकायाले अगाडि भने, ‘हुम्लामा अर्गानिक उत्पादन बढाउन सिचाई, थ्रेसर मेसिन, तेल पेल्ने मेसिन, सुधारिएको घट्ट जस्ता प्राविधिक सहयोग राज्यले गर्न पर्छ ।’
द्धन्द्ध विश्लेषक समेत रहेका रोकायाले हुम्लाको २० वटा गाविसमा पुगी गरेको अध्ययनको सार सुनाउँदै स्थानीय उत्पादनले पुग्ने भएपनि वर्षभरी पुग्ने अन्नको जोहो नहुने वित्तिकै हुम्लामा भोकमरीको समाचार बनी हाल्ने गरेको जानकारी दिदै भने, ‘त्यो एक सरकारी गलत नीतिका कारण बन्ने गरेको छ, अर्को हुम्लीहरुमा रहेको जागरणको कमी हो ।’
स्थानीय रुपमा हेला गरिएको अन्न जौ, फापर, आलु, सिमी र फलफुलमा स्याउ, ओखर, खमु, चुलीले हुम्लाको विकासमा मुहार फेर्ने दावी पनि उनले सोही अवसरमा गरे । रोकायाको तर्क छ, ‘हुम्लामा एक घर एक बगैचा निर्माण गर्न सकिए भोलि मोटर बाटो पुग्दा रित्ता गाडी ट्रक फर्कने छैनन् ।’
सोही कार्यक्रममा नेकपा –माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कर्णजीत बुढाथोकीले हुम्लाको विकास नहुनुमा भौतिक पूर्वाधार समस्या रहेको बताए । उनले स्थानीय आम्दानी बढाउन चिनियाँ बजारलाई हेरी उत्पादनलाई बढाउनपर्नेमा जोड दिदै भने, ‘हेरु भने संभावनै सम्भावना रहेको क्षेत्र हुम्ला बन्दै गएको छ ।’
कर्नाली विकास आयोगका सदस्य दल फडेराले हुम्लामा खाद्य संस्थानले भाते संस्कृति निर्माण गरेको दावी गरे । उनले भने, ‘यसैको परिणाम हुम्लामा परनिर्भरता बढेको छ भन्ने कुरा प्रमाणित भइ सकेको छ ।’ ‘राज्यले कर्नाली विकास आयोगमा कर्नालीको मान्छे अध्यक्ष बन्न दिएको छैन’ भन्दै राज्यका कारण कर्नाली पछि परेको दलिल पेश गरे ।
खानेपानी तथा सरसफाई कोषका अध्यक्ष भूमिनन्द देवकोटाले ३३ वर्ष अघि र अहिलेको हुम्लाको तुलनात्मक जानकारी दिदै भने, ‘हुम्लामा खान, बोल्न र सरसफाईमा धेरै परिवर्तन आइसकेछ ।’ उनको विचारमा हुम्लाले आत्मनिर्भर हुने बाटोको बारेमा माग गरेकोले राज्यले सम्बोधन गर्न चुक्न हुँदैन ।
नेपाल खाद्य संस्थानका महाप्रवन्धक डा. शिवहरि श्रेष्ठले हुम्ला नेपालकै एक भाग भएकाले हुम्लाको कृषि उत्पादनमा जोड दिनपर्ने र त्यो सकारात्मक रुपमा देखा पर्दै गएको बताए । उनले गत वर्षझै यसवर्ष पनि ५०÷५० क्वीन्टल सिमी र फापर किन्ने योजना रहेको जानकारी दिए । कर्नाली विकास आयोगका निमित्त कार्यकारी अधिकृत पार्वती अर्यालले हुम्ला उत्तरको सबभन्दा सजिलो नाका भएकाले हुम्ला विकासको सम्भावना रहेको बताउँदै आयोगले बनाउने १० वर्षे रणनीति पत्रमा उठाउनपर्ने देखिएको बताइन् । ‘ध्यान दिन सकियो भने हुम्लाको चिसो हिउँभित्रको उत्पादनले अन्तर्राष्ट्रिय बजार निर्माण गर्न सक्छ’ उनको कथन छ ।
सिप नेपालका कार्यकारी प्रमुख अंगबहादुर लामाले हुम्ला र काठमाडौमा एकै साथ बहस नउठाउने हो भने हुम्लाको आवाज सिंहदरवारभित्रको नीति निर्माण गर्ने क्षेत्रमा नपुग्ने अनुभव सुनाए । उनले भने, ‘स्थानीय गैरसरकारी निकायले गरेका कतिपय काम गैसस गएपछि सरकारले स्वामित्व लिन आवश्यक छ ।’
थपाल्या ब्यासी राष्ट्रिय मुक्ति मोर्चा नेपालकी कोषाध्यक्ष लक्ष्मी ऐडीले हुम्लामा विकास संभावना रहेपनि राज्यले ध्यान नदिदा आएका अप्ठेरोको बारेमा स्थानीय गीतबाट अभिब्यक्त गरेकी थिइन् । कार्यक्रममा संवाद डवलीका सचिव धनञ्जय बुढाले पनि धारणा राख्दै डबलीले हुम्लाको विषयमा सधै सकारात्मक भूमिका खेल्दै आएको र अझै त्यसमा प्रतिबद्ध रहेको धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...