Loading...

संसदका पदाधिकारीको पारिश्रमिक सम्बन्धि विधेयक पारित , महाभियोगमाथिको छलफल अझै सकिएन

काठमाडौं, २९ कार्तिक ।
व्यवस्थापिका संसदको आजको बैठकमा पनि निलम्बित अख्यियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की माथि दर्ता भएको महाभियोग प्रस्तावमाथि सांसदहरुले धारणा राखेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा आज ९ जना सांसदले धारणा राखेका थिए । सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत् महाभियोग प्रस्ताव विधिसम्मतरुपमा नआएको भन्दै प्रस्तावमा नै समस्या रहेको उल्लेख गर्नुभयो ।

अर्का सांसद युवराज ज्ञवालीले भने नेपालको संविधान, र संसद कार्यसन्चालन नियमावलीअनुसार नै सदनमा प्रस्ताव दर्ता गरिएकोले कोही–कसैले आशंका नगर्न र प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

सांसद श्यामकुमार श्रेष्ठले मुलुकका कुनैपनि व्यक्ति संविधान र कानुनभन्दा माथि नभएकाले पदको दुरुपयोग गर्ने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याउन महाअभियोग प्रस्ताव ल्याइएको बताउनु भयो ।

यस्तै सांसद राजेन्द्रकुमार केसी र सांसद शिवलाल थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति प्रक्रिया नै गलत भएकाले कार्कीलाई नियुक्ति गर्नुपर्नाका कारण प्रमुख तीन दलका नेताले सदनलाई दिनुपर्ने बताउनु भयो ।

सांसद रामेश्वर फुयाँलले अख्तियार प्रमुखले समानान्तर सरकार चलाएको, संसदीय समितिलाई अटेर गरेकाले संविधानको परिपालनाका लागि महाभियोग प्रस्ताव पेस गरिएको विचार व्यक्त गर्नुभयो ।

अर्का सांसद गंगालाल तुलाधरले लोकतन्त्रको रक्षाका लागि सदनमा महाभियोगको प्रस्ताव दर्ता गरिएकाले त्यसलाई पारित गर्नुपर्ने बताए ।

सांसद बुद्धिराम भण्डारी र कमला शर्माले ‘सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली लोकोक्तिजस्तै संविधान र कानुन सबैलाई लाग्नुपर्ने भएकाले सदनमा महाभियोग प्रस्ताव दर्ता गरिएको धारणा राख्नुभयो ।

त्यस्तै संसदको आजको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले प्रस्तुत गरेको “संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि विधेयक, २०७३” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सामान्य छलफल पश्चात् उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।

व्यवस्थापिका–संसदको अर्को बैठक आगामी मंसिर १ गते ११ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...