Loading...

बर्डफ्लु भित्रन नदिन व्यावसायीद्धारा सुरक्षामा कडाइ

चितवन, कात्तिक २८।

चितवनका पोल्ट्रि व्यावसायीले फर्ममा जैविक सुरक्षामा बिशेष कडाई गर्न थालेका छन् ।

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा फैलन नदिन सो क्षेत्रका किसान र व्यवसायीले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडीको प्रवेशमा रोक लगाएका छन् ।

व्यवसायीले पक्षीलाई राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् ।

पोल्ट्रीजन्य पदार्थ बोकेका गाडी धोएरमात्र एकपछि अर्को काम गरिँदै आएको बताउँदै सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले जैविक सुरक्षामा ध्यान दिन सके रोग भित्रिन नपाउने बताउनु भयो ।

यस्तै दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताउनु भयो ।

नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्याईं नगर्न सूचित गरिएको बताउनु भयो ।

उहाले पक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको बताउनु भयो ।

बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ ।

तथ्याङ्क विभागले गतवर्ष गरेको सर्वेक्षणअनुसार चितवनमा ५३ लाख, ६२ हजार ५९१ ब्रोइलर र ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...