Loading...

कथा : एउटा विचारको अन्त्य

– अशोक कुँवर ‘नेत्र’

बल बहादुरले आफूले आर्जन गरेको सम्पूर्ण ज्ञान र सिपलाई प्रयोग गरेर गाउँ समृद्ध बनाउने सपना देख्यो । आफू जन्मेर हुर्किएको गाउँमा आफ्ना कयौँ भावी पुस्ताले सुखसाथ जीवन यापन गरून् भन्ने उसको मनदेखिको सपना रह्यो ।
सपना देख्नु नै आधा काम पुरा हुनु हो भन्ने उसको मान्यता थियो । सुदूर विकट आफू जन्मिएको पहाडी बस्तीका गाउँलेहरूको जीवन स्तर सुधार्न सके मात्र आफ्नो जन्म सार्थक हुने उसको एक मात्र चिन्तन वा चिन्ता रह्यो ।
ऊ सानो छँदै उसका बुबा मरे । त्यसपछि आमाकै सहारामा उसको जीवन चङ्गा उडेको थियो । गाउँमा उसलाई सबैले डाक्टर बल बहादुर भनेर चिन्दथे । अमेरिकाबाट मानव शास्त्रमा पिएच्.डी. गरेर गाउँ छिरेको उसले गाउँ भरिमै पहिलो पटक यति धेरै पढ्ने मौका पाएको थियो । ऊ बेला सारै तिक्खर बुद्धि र तीक्ष्ण सोच भएकै कारण उसले काठमाडौँमा छात्रवृत्ति पाएर पढ्ने मौका पाएको थियो, जसलाई काठमाडौँको एउटा सामाजिक संस्थाले सार्थक बनाइ दिएको थियो । बिदा र चाडपर्वमा ऊ आफ्नो गाउँ आउँथ्यो । ऊ आफ्नो गाउँ फर्कँदा आफ्नो गाउँको दरिद्रता देखेर दिक्क पनि हुने गर्दथ्यो ।
“आमा ! म ठुलो भएपछि मेरो गाउँलाई काठमाडौँ जस्तै समृद्ध बनाउँछु ।”, ऊ बारम्बार आमालाई भन्ने गर्दथ्यो ।
काठमाडौँको तस्बिरसम्म पनि नदेखेकी उसकी आमा नबुझेरै छोरोलाई उत्साह थप्दै भन्थी, “उस्तै बनाए बाबु ! मेरोे आशीर्वाद छ ।”
गाउँलेहरूले डाक्टर बल बहादुरका बारेमा धेरै सुनेका थिए । ऊ नेपाली भाषा मात्र होइन, गाई खाने र गाई पूूजा गर्ने भाषामा समेत पोख्त थियो भन्ने कुरा उसकै तस्बिर छापिएको मोटो पुस्तकको अन्तिम पातो हेरेर गाउँलेहरूले चाल पाएका थिए ।
यता बल बहादुर गाउँमा छिरेदेखि सामन्ती गोवर्धनको होसै गुमेको थियो । सयलाई हजार, दस हजार बनाएर अपठित गाउँले लुट्न पल्किएको गोवर्धनको आँखामा बल बहादुर बिझाउने कसिङ्गर भएको थियो ।
“बलेलाई तह नलगाई हुँदैन । त्यो रहुन्जेल हाम्रो खैरात पनि छैन ।”, एकान्तमा गोवर्धनले सोच्थ्यो । यसैले उसले षड्यन्त्र बुन्न थाल्यो ।
बल बहादुर पक्कै पनि गाउँलेको दुःख हरण गर्न आएको उद्धार कर्ता थियो, आफ्नो सुख सुबिधालाई तिलाञ्जली दिँदै गाउँ र गाउँलेको सेवा गर्न आएको सच्चा सेवी थियो । ऊ गाउँमा छिरेपछि सामाजिक संस्था खोलेर विदेशी अनुदानलाई गाउँको विकासमा खर्च गर्ने बाटो बनाएको थियो । ऊ आएपछि नै गाउँलेहरूले गोरो छाला र खैरो कपाल भएका गाई काटी खाने देखे । ‘बिफ’ भन्ने चाल नपाएका कतिपय बाहुनहरूले पाकेटको गाईकै मासु पनि खैरेको उपहार भन्दै डकारेका पनि थिए ।
बल बहादुरले गाउँमा सुधारिएको पानी घट्ट मात्र होइन युवा क्लब पनि सञ्चालनमा ल्याएको थियो । आफ्नो गाउँलाई बिजुली बत्तीले झकिझकाउ पार्ने उसको सपना थियो । यसका निम्ति उसले अमेरिकाबाट केही सहपाठी साथीहरूलाई आफ्नो गाउँ निम्ताएको पनि थियो । उनीहरूले गाउँमा जल विद्युत्को सम्भाव्यता अध्ययन गरेका थिए । अध्ययनपछि नजिकैको खोलालाई बाँध बाँधी विद्युत् निकाल्न सकिने निश्चय गरी उनीहरू थप प्रविधि र प्राविधिक टोली झिकाउन पुनः विदेसिएका पनि थिए ।
उता गोवर्धन बल बहादुर आएदेखि न रातमा न दिनमा राम्ररी निदाउन सकेको थियो । गोवर्धनले जसरी हुन्छ बल बहादुरलाई फँसाएर पाखा लगाउने दाउको खोजी गर्न थाल्यो । एक दिन गोवर्धनले बल बहादुरलाई फँसाउने जुक्ति पनि पत्ता लगायो । जुक्ति अनुसार उसले आफ्नै घरमा काम गर्ने सुन्तलीलाई बल बहादुरलाई फँसाउन प्रयोग गर्ने भयो । सुरुमा त सुन्तलीले बल बहादुरलाई फँसाउनु महा अपराध हो भन्दै गोवर्धनको प्रस्ताव अस्वीकार ग¥यो । रोजीरोटी नै बन्द गरि दिने धम्की आएपछि भने सुन्तलीले गोवर्धनलाई साथ दिनु नै पर्ने भयो ।
योजना बन्यो । योजन अनुसार सुन्तली हार गुँहार गर्दै बल बहादुरको घर जाने, जसरी हुन्छ रात त्यहाँ नै बिताउने, बिहानै गोवर्धनले गाउँलेहरूलाई बटुलेर बल बहादुरको घरमा लैजाने, सुन्तलीले बल बहादुरमाथि आफ्नो इज्जत लुट्न कुनै कसर बाँकी नराखेको आरोप लगाएर गाउँ निकाला गर्ने रणनीति तय भयो ।
सुत्केरीबाट तङ्ग्रिन बल बहादुरकी स्वास्नी माइत गएकी थिई । बल बहादुरलाई फँसाउन गोवर्धनका निम्ति यो सुनौलो मौका थियो । योजना अनुसारै एक रात गोवर्धनले सुन्तलीलाई बल बहादुरको घरमा पठायो । सुन्तलीले आफूलाई गोवर्धनले हातपात गरी इज्जत लुट्न लागेको र बँच्न भागेको कथा तुनी । उसले त्यस निष्पट्ट रात शरण दिन अनुनय विनय गरी । रातबिचमा शरण माग्न आएकी निरीह नारीलाई शरण दिनु मानवीय कर्तव्य ठानेर उसले त्यस रात सुन्तलीलाई शरण दियो ।
भोलि पल्ट बिहानै घरअगाडि कल्याङकुलुङ आबाज सुनेर बल बहादुरको निद्रा खुल्यो । हत्त न पत्त बल बहादुरले आफ्नो घरको दैलो उघा¥यो । दैलो उघार्दा एक हुल गाउँलेहरू हातमा लाठी लिएर राता राता आँखा बनाउँदै बल बहादुरलाई खाउँला झैँ गरी हेर्न थाले । उता सुन्तली पनि दैलोबाहिर निस्की । निस्कनासाथ सुन्तली ग्वाँग्वाँ रुन थाली र भन्न लागी, “यो अधर्मी, पापी बलेले आफूलाई कत्ति न भलादमी भन्छ तर सुत्केरी खान स्वास्नी माइत गएको मौका छोपी रातविरात मलाई उठाएर मेरो इज्जत लुट्यो । मैले न्याय पाऊँ ।”
बल बहादुर छाँगाबाट खसे झैँ भयो । त्यसरी शरण दिएकी एउटी निरीह नारीले गोहीले झैँ आँसु बगाउँदै आफ्नो चरित्र हत्या गर्ली भन्ने उसलाई थोरै मात्र पनि लागेको थिएन, ऊ अवाक भयो । गाउँलेहरूलाई प्रमाण चाहिएको थियो, गोवर्धन र सुन्तलीले बल बहादुरको चरित्र नङ्ग्याउन यथेष्ठ प्रमाण जुटाएको थियो ।
गाउँलेहरूले बल बहादुरको निस्वार्थ त्यागलाई बिर्सिए । बिर्सिएपछि उसले देखेका विकासका सपनाहरू, होमा हो गर्दै पञ्च बस्यो । पञ्च भलादमीहरूले प्रमाणलाई आधार बनाए । गोवर्धनको गोटी बनेकी सुन्तलीले आफूलाई न्याय नै दिने हो भने बल बहादुरलाई चार पाटा मोडेर गाउँ निकाला गर्नु पर्ने सर्त अघि सारी । उता गोवर्धनले आफ्नो घरमा काम गर्न बसेकी चेलीको इज्जत लुट्ने बल बहादुरलाई सुँगुरको पाठो च्याप्न लगाएर डाँडा कटाउनु पर्ने तर्क ग¥यो । नभन्दै एक मत हुँदै पञ्च भलादमीले बल बहादुरलाई चार पाटा मोडेर सुँगुरको पाठो च्याप्न लगाई डाँडा कटाउने निधो गरे ।
उता समाचार सुनेपछि बल बहादुरकी स्वास्नीले उल्टै बल बहादुरलाई नै दोषी ठहराई । भनी, “स्वास्नी सुत्केरी भएपछि खप्न नसकेको असत्ती । त्यस्ता लोग्ने हुनुभन्दा विदुवा भएकै वेश । यो लोग्ने मान्छेको जातै बैरी ।”
गाउँलेहरू चौतारीमा भेला भए । बच्चाहरू कतै रमिता पो देखाउँदै छन् कि भन्दै भेला भए । गाउँका भुस्याहा कुकुरहरू पनि कहीँ कतै भोज भए मौकामा चौका हान्दै मिठो मसिनो खान पाइएला भन्दै चौतारीको वरपर रुमल्लिन थाले । बल बहादुरलाई चार पाटा मोडियो । काखीमा सुँगुरको पाठो च्याप्न लगाइयो । बल बहादुर सुँगुरको पाठो च्याप्दै गहभरि आँसु पार्दै उँधो उँधो झ¥यो । उँधो झर्दै गर्दा उसले अन्तिम पटक आफ्नो गाउँको सुन्दर दृश्य आँखाभरि कैद ग¥यो अनि आफ्नो अध्ययन, सिप, आफूले देखेको सपना र गाउँको हालत देखेर रोक्न खोज्दा खोज्दै आँखाको डिलबाट आँसुको थोपा झा¥यो । उसले एक पटक आफ्ना परलोक भएका आमाबुबालाई सम्झियो । एक छिनपछि उसले मन थाम्न सकेनछ क्यारे भक्कानेर रुँदै कहिल्यै गाउँ नफर्कने वाचा गर्दै उँधो उँधो झर्दै गयो ।
धेरै वर्षपछि अध्येता र बल बहादुरका विदेशी साथीहरूले बल बहादुरको व्यापक खोजी गरे । कसैले काठमाडौँ, कसैले त्रिवेणी धाम, कसैले देवघाट, कसैले कासी, कसैले हरिद्वारमा देखेको भनी सुनाए । अध्येता वा बल बहादुरका विदेशी साथीहरूमध्ये कोही कसैले पनि बल बहादुरलाई भेट्टाउन सकेनन् र त्यसपछि बल बहादुर कहाँ छ भन्ने पत्ता पनि लाग्न सकेन ।

                            (कथाकार प्रगति शील लेखक सङ्घका केन्द्रीय सदस्य हुन् ।)                                         [email protected] /९८४९५९९३७

यसमा तपाइको प्रतिक्रिया

Loading...