Loading...

महाअभियोग प्रस्ताव पारित गराउनुपर्नेमा तीन दलका सांसदको जोड

काठमाण्डौ, कार्तिक २६ ।

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको प्रमुख दलका सांसदले समर्थन गरेका छन् ।

संसदको आजको बैठकमा बोल्ने सत्तारुढ कंग्रेस र प्रतिपक्षी दल एमालेका सांसदले महाअभियोगको प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

कंग्रेसले औपचारिक धारणा तय नगरेपनि बैठकमा बोल्ने सो पार्टीका सांसदले पनि महाअभियोगको प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका छन् ।

आजको बैठकमा बोल्ने कंग्रेसका सांसदहरु धनराज गुरुङ, जगदीश्वरनरसिंह केसी र मीन बहादुर विश्वकर्माले संसदीय समितिलाई नै नटेर्ने कार्कीमाथी कारबाही हुनैपर्ने बताउनुभयो ।

यस्तै एमालेका सांसदहरु पुरुषोत्तम पौडेल, शेर बहादुर तामाङ, राजाराम स्याङ्ताङ, सीता गिरी ओली, पाँचकर्ण राई र भरत साउदले संविधानको दायरामा नबस्ने जो कसैलाई पनि संविधान अनुसार कारबाही गर्नु पर्नेमा जोड दिए ।

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुको कारण र अहिले महाअभियोग लगाएर हटाउनुको कारणबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

कात्तिक ९ गतेको बैठकमा बोल्ने १५ जना सांसदले समेत प्रस्तावको पक्षमा धारणा राखेका थिए । प्रस्तावमाथी आज १७ जनाले धारणा राखेपनि छलफल नसकिएकाले आगामी सोमबार विहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...