Loading...

स्वास्थ्य मन्त्रालयको उच्चस्तरिय समिति सक्रिय

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधार तथा पुनः संरचनाका लागि स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति ले आफ्नो काम सुरु गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा गत बिहीबार गठन भएको १३ सदस्यीय समितिले मंगलबार पहिलो बैठक बसी दुई महिना भित्र संपूर्ण काम सक्नेगरी कार्ययोजना बनाएको छ ।
बैठकमा राज्यको पुनःसंरचना भएपछि बन्ने नयाँ व्यवस्था अनुसार स्वास्थ्य सेवा तथा संरचनालाई रुपान्तरण गर्नका लागि अहिले सम्म भईरहेको प्रयासको समिक्षा भएको स्वास्थ्य मन्त्री थापाले जानकारी दिनुभयो ।  “स्वास्थ्य सेवा, संरचना र नीतिगत व्यवस्थाको समग्र पुर्नसंरचनाका लागि विगतमा भएका प्रयासलाई समेत मध्यनजर गर्दै भोलीको नेपालको स्वास्थ्य क्षेत्र कस्तो हुन्छ भन्ने कुराको खाका हामीले बनाउन लागेका हौं,” उहाँले भन्नुभयो । उहाँले खाका बनाउदा संघियतालाई मुख्य आधार बनाईने बताउनु भयो ।
समितिलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका लागि उपयुक्त संरचनाको खाका तयार पार्ने, स्वास्थ्य नीति, योजनालाइ संघीय संरचना अनुरुपको बनाउन सुझाव, सल्लाह, सहयोग र समन्वय गर्ने कार्यक्षेत्र तोकिएको छ । त्यसैगरी विद्यमान स्वास्थ्य क्षेत्रका कानुनहरुलाइ समयानुकुल बनाउनका लागि सुझाव तथा मार्ग निर्देशन गर्ने जिम्मेबारी पनि समितिले पाएको छ । साथै समितिले स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक देखिएका विषयबस्तुमा रुपान्तरण तथा परिवर्तनका लागि मार्ग निर्देश गर्ने भएको छ । दिईएको जिम्मेबारी तोकिएकै समयभन्दा अगाडी सक्नेगरी सक्रिय भएको उच्चस्तरिय समितिले आउदो शुक्रबार संविधानमा भएको स्वास्थ्य संवन्धी व्यवस्थामा छलफल गर्ने भएको छ ।
नयाँ संविधानमा आधारभुत स्वास्थ्य सेवालाई अनिवार्य गरिएकाले त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा विज्ञहरुले नितिगत, कानुनी र संरचनागत प्रारुप तयार पार्न लाग्नु भएको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनु भयो । उच्चस्तरिय समितिमा स्वास्थ्य, संघियता, पुर्नसंरचना, कानुन लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...