Loading...

स्थानीय निकायको चुनाव नगर्ने षडयन्त्र हुदैछ : पोखरेल

काठमाडौ, २२ कार्तिक ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्थानीय निकायको निर्वाचन हुन नदिनका लागि आन्तरिक तथा बाह्य शक्तिबाट षडयन्त्र भइरहेको दावी गर्नु भएको छ ।

निर्वाचन प्रकृया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने भएकाले देशीविदेशी शक्ति निर्वाचन भाँड्ने खेलमा लागिपरेको बताउनुभयो ।

प्रेस चौतारी नेपालले आज खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

दलको भूमिकालाई कमजोर बनाएर छेउ लगाउँदै लोकतन्त्रलाई कमजोर र नाम मात्रको बनाउन सबै तिरबाट निर्वाचनलाई टार्ने षडयन्त्र भइरहेको उहाँको आरोप छ ।

महासचिव पोखरेलले नेपालका ‘ओरिजिनल’ नागरिकको अधिकार कुण्ठित पार्न अंगिकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउने षडयन्त्र भइरहेको बताउनुभयो ।

महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि संशोधनका विषयवस्तु औपचारिकरुपमा नल्याइएको बताउनुभयो । संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पष्टसँग प्रस्तावमा ल्याउनु पर्ने उहाँको भनाई छ ।

अर्को प्रसँगमा महासचिव पोखरेलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणकाबेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय रहेको टिप्पणी गर्नुभयो ।

उहाँले निलम्बित अख्तियार प्रमुख लोकमानसिं कार्की बिरुद्धको महाअभियोगका पक्षमा कांग्रेस उभिने र महाअभियोग पारित भएरै छाड्ने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...