Loading...

काग्रेस नेतृ सुजाता कोईरालालाई ब्रेस्ट क्यान्सर

काठमाण्डौ ,२० कार्तिक ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको छ । केही समयअघि मलेसिया भ्रमणमा रहेकै बेला अस्वस्थ्य भई उपचार गराउँदा कोइरालालाई ब्रेस्ट क्यान्सर भएको जनाइृएकाे हो । क्यान्सर पत्ता लाग्नासाथ मलेसियामा नै शल्यक्रिया गरी कोइराला एकसाता अघि नेपाल फर्केको परिवारका एक सदस्यले जानकारी दिएका छन् ।

शल्यक्रिया पछि कोइराला मण्डिखाटारस्थित निवासमै स्वास्थ्य लाभ गरिरहेकी छिन् । परिवारका सदस्य, आफन्त र पार्टीका शीर्ष नेतृत्वबाहेक उनी कसैसँग पनि सम्पर्कमा आएकी छैनन् । ‘उहाँको शल्यक्रिया भइसकेको छ । अब एक सातापछि केमियोथेरापी दिने काम सुरु हुन्छ’ परिवारका ती सदस्यले भने, ‘त्यसका लागि सिंगापुर जाने तयारी भएको छ ।’ उनका अनुसार केमियोथेरापीको ६ वटा कोर्ष पूरा गरेपछि मात्रै उनको क्यान्सरको अवस्था कस्तो हुन्छ भन्नेबारे निक्यौल हुनेछ ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्य उपचारका लागि सहयोग जुटाइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई भारत जानुअघि अनुरोध गरेकी थिइन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपचारका लागि सहयोग गर्न आग्रह गरेको स्रोतले बतायो । ‘तर कति सहयोग गर्ने भन्नेबारे अन्योल रहेकाले निर्णय हुन बाँकी छ’ स्रोतले भन्यो । कोइरालाले भने आफ्नो उपचार महँगो भएकाले एक करोड रुपैयाँ माग गरेकी छिन् ।

स्वास्थ्य मन्त्री गगन थापाले कोइरालाको उपचार खर्चको प्रस्तावबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई यसबारे प्रस्ताव आएको जानकारी छैन’ उनले भने, ‘सिधंै प्रधानमन्त्री पुष्पकमल दाहाल या गृहमन्त्री विमलेन्द्र निधिमार्फत् आएको भए मलाई थाहा भएन ।’

एशियाली महिलाहरुको सञ्जाल (आईक्याप)को सम्मेलनमा भाग लिन कोइराला मलेसिया गएकी थिइन् । सम्मेलन सकिएपछि आफ्नो छोरी ज्वाईसँग रहेकी कोइरालालाई एक्कासी रिंगटा लागेपछि अस्पताल लगिएको थियो । अस्पतालमा परिक्षणका क्रममा उनलाई क्यान्सर लागेको थाहा पाएपछि ढिलाई नगरीकनै उनको शल्यक्रिया गरिएको कान्तिपुर अनलाईनमा समाचार छापिएको छ । शल्यक्रिया भएको केही दिनमै उनी नेपाल फर्केकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...