Loading...

मधेशवादी दलले सप्तरीमा स्थानीय तह पुनर्संरचना छलफलको माइनुट च्याते

सप्तरी ,२० कार्तिक ।
स्थानीय तह पुनर्संरचनाका विषयमा छलफल गर्न जिल्ला विकास समिति सप्तरीमा आयोजना गरीएको सर्वपक्षीय भेला मधेस मोर्चाका नेताहरुले बिथोलेका छन् ।

जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा दिउँसो १ बजे सुरु भएको कार्यक्रम १ घण्टा नपुग्दै बिथोलिएको हो ।

छलफल आरम्भ गर्दै स्थानीय तह पुनर्संरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिका तर्फबाट स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले स्थानीय तहको पुनर्संरचनाका विषयमा आ–आफनो सुझाव दिन आग्रह गर्नुभएको थियो ।

त्यसलगत्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता गजेन्द्रकुमार मण्डलले संविधानमा संघीयताकै विषयमा कुरा नमिलेको, प्रादेशिक सीमाकै विषयमा विवाद रहेका बेला यस्तो छलफलको कुनै औचित्य नहुने बताउनुभयो ।

सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाले संघीयताको विषय टुङ्गो नलागेसम्म यस्तो छलफल औचित्यहिन हुने भन्दै आफूहरु विरोधमा उत्रनु परेको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवले संघीयताको विषयमा मधेसको असन्तुष्टि कायम रहेको भन्दै पहिले त्यसलाई मिलाउनु जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...