Loading...

काठमाण्डौका नदिको सफाई अभियान जारी , आज ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाण्डौ ,२० कार्तिक ।
काठमाडौं उपत्यकाका प्रमुख वागमती र विष्णुमती सहितका अन्य नदिबाट आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

पूर्वमुख्यसचिव लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापा लगायतको नेतृत्वमा बागमती र विष्णुमती नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत सात सयको सहभागिता रहेका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । वागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा आजपनि सरसफाई जारी राखिएको हो ।

रुद्रमती सफाइको १४१ औँ हप्तामा आज कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशालामा जनजागरण अभियानसहित सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले बताउनु भयो ।

सफाइमा समाज, वातावरण संरक्षण अभियान, महानगरपालिकाको वडा नं ९ र ३३ एवम् महानगरीय प्रहरी वृत्त कमलपोखरी, गौशाला, सामुदायिक प्रहरी हाँडीगाउँको सक्रिय सहभागिता थियो ।

नख्खु खोला सफाइको ६४ औँ हप्तामा आज कुसुन्ती दिव्यनगरस्थित नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
आइतबार सूर्यको आराधना गरी मनाउन लागिएको छठ पर्वको तयारीका लागि पनि सो स्थानमा सफाइ गरिएको संयोजक बलुदेव पाण्डेले बताउनु भयो ।

२०७० जेठ पहिलो सातादेखि सुरु गरिएको सफाइ महाअभियानले उपत्यकाका नदी तुलनात्मक रुपमा सफा हुन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...