Loading...

तराईका जिल्लामा सामा चकेवा पर्व आजबाट सुरु

काठमाडौ ,१६ कार्तिक ।
तराईका जिल्लाहरुमा आजदेखि सामा—चकेवा पर्व सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्व कात्तिक शुक्ल द्वितीयादेखि कात्तिक पूर्णिमाको मध्यरात्रिसम्म चल्ने गर्दछ ।

यस पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मूर्ति बनाएर पुजापाठ गर्ने गरिन्छ । यो पर्व विषेशगरी तराईका मैथिली र थारु समुदायका महिलाहरुले मनाउने गर्छन ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावर लगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।

भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ ।

सामाको भाइ साम्बले आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउन गरेको घोर तपस्याबाट खुशी भएर भगवान कृष्णले सामा सहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गराएको भविष्यपुराणमा उल्लेख गरिएको छ ।

यस पर्व अवाधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशीष दिने खालका सामा गीत गाउने गरिन्छ । यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाईका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...