Loading...

महाकवि देवकोटाको जन्मजयन्ती आज मनाइदै

काठमान्डौ कात्तिक १४ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नु भएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित रहेका छन् ।

जन्म जयन्तीको अवसरमा आज स्वदेश तथा विदेशमा नेपाली साहित्यीक क्षेत्रका विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नु भएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ भने उहाँको कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

महाकवि देवकोटाले विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान दिनु भएको थियो ।

विसं २०१६ मा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुनुहुन्छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...