Loading...

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा, अदालतको अन्तरिम आदेश जारी

कार्तिक २ काठमाण्डौं । आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा परेको छ ।
उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाविरुद्ध अन्तरिम आदेशसहितको निषेधाज्ञाको माग गर्दै परेको रिटमाथि प्रारम्भिक आदेश दिंदै एकदिनका लागि अन्तरिम आदेश जारी गरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश भीमकुमार ओझाको एकल इजलासले विशेष साधारणसभाविरुद्ध कात्तिक ३ गते बुधबारसम्मका लागि अन्तरिम आदेश दिएको हो ।
योसँगै अदालतले बुधबार नै अन्तरिम आदेशको बिषयमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै विपक्षीहरुलाई समेत बोलाउनु भनेको छ ।
अदालतले रिट निवेदनमा विपक्षी बनाइएका सबैलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

antarim-adesh

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा गैरकानूनी ढंगले गर्न लागिएको भन्दै निषेधाज्ञासहितको अन्तरिम आदेशको माग गर्दै आइतबार रिट दायर गरेका थिए ।
अदालतमा परेको रिटमा उद्योग वाणिज्य महासंघ, कार्यकारिणी समिति, अध्यक्ष पशुपति मुरारका, महासंघका निमित्त महानिर्देशक मिना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ लगायतलाई विपक्षी बनाइएको छ ।

निवेदनमा उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले गैरकानूनी ढंगले संविधानप्रदत्त अधिकार र महासंघको विधानलाई समेत बेवास्ता गर्दै विशेष साधारणसभा आह्वान गरिएको र विधान संसोधनको नाममा खुल्ला प्रतिस्पर्धालाई बेवास्ता गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने खेल भएको तर्क गरिएको थियो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा र अधिवक्ताहरु टिकाराम भट्टराई र गोपालदत्त पाण्डेयले बहस गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...