Loading...

उद्योग वाणिज्य महासंघको पर्सी हुने भनिएको विशेष साधारण सभा अनिश्चित

काठमाडौ २ कार्तिक ।  

नेपाल उद्योग वाणिज्य महासंघको पर्सी हुने भनिएको विशेष साधारण सभा अनिश्चित बनेको छ । विशेष साधारणसभा रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले आज साधारणसभाको प्रकृया तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो ।

महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान सहित विधान संशोधन गर्न कात्तिक ४ गते पर्सी विशेष साधारणसभा बोलाएको छ । वर्तमान अध्यक्ष पशुपति मुरारकाको कार्यकाल आगामी चैत २६ गते सकिँदैछ ।

वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावप्रति असन्तुष्ट पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले रिट हाल्नु भएको थियो । विशेष साधारणसभाबाट विधान संशोधन गर्न नमिल्ने उनीहरुको जिकिर छ ।

महासंघले विधान संशोधन गरेमा वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः चार वर्षे कार्यकालका लागि अध्यक्ष हुनेछिन् । विधान संशोधन हुन नसकेमा भने आगामी साधारण सभामा अध्यक्ष लगायतका सबै कार्यसमितिको निर्वाचन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...