Loading...

भारत भ्रमण फलदायी भएको प्रम दाहालको दाबी

काठमाण्डौ, १ कार्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण अत्यन्तै उपयोगी भएको बताउनुभएको छ । भ्रमणले नेपालीको शीर ठाडो भएको पनि दाहालले दाबी गर्नुभयो ।

भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएर आज त्रिभुवन विमानस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले भ्रमण सकारात्मक भएको अनुभव गरेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई संयोग मात्रै भएको पनि बताउनुभयो ।

आफू एउटा कार्यक्रममा जानको लागि कुर्दै गर्दा चिनियाँ राष्ट्रपतिसँग भेट भएको दाहालको भनाई छ । दाहालले भन्नुभयो, ’म कार्यक्रममा जान कुरिरहेको थिएँ । प्रतिक्षा कक्षमा कुरिरहँदा चिनीयाँ राष्ट्रपति आउनु भयो । उहाँको आगमनले मलाई ढुंगा खोज्दा देउता मिले झैं भयो ।’

भेटमा आफुले चिनियाँ राष्ट्रपतिसँग नेपाल भ्रमण र नेपालको विकास, संविधान लगायतको विषयमा कुरा गरेको बताउनुभयो । आफुहरुविच कुरा भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आईपुग्नुभएको उहाँले बताउनुभयो । तीन जनाको भेटमा त्रिपक्षीय कुरा भएको प्रधानमन्त्री दाहालले दाबी गर्नुभयो ।

उहाँले त्रिपक्षीय साझेदारको विषयमा कुरा भएको र नेपाल सानो देश भएकोले नेपाललाई सहयोग गर्नुपर्छ भनेर दुवै नेताले भनेको पनि प्रधानमन्त्रि दाहालको भनाई छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा अन्य देशका राष्ट्रप्रमुखहरुसँग पनि भेट भएको र नेपालबारे महत्वपुर्ण कुरा भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...