प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच भेटवार्ता , मृत्युदण्डको सजाय पाएका चेतबहादुरको फैसला पुनरविचार गर्न आग्रह

काठमाण्डौ ,३० असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

गोवाको लिला होटलमा प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच आज बिहान भएको भेटमा उहाले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

भेटमा उहाहरुबीच स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता रहेको बताउनु भयो ।

यस्तै भेटमा प्रधानमन्त्री दाहालले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न सिरसेनासँग अनुरोध गर्नुभएको छ ।
उहाले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकमा नेपाली महिलाहरु लगिने गरिएकोमा उक्त कार्य रोक्न सहयोग गर्न पनि सिरसेनासँग अनुरोध गर्नुभएको छ ।

जवाफमा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालले राखेको चासोंप्रति श्रीलंका सकारात्मक रहेको बताउनु भएको छ ।

उहाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने धारणा राखेका राख्नुभयो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया