रोल्पामा मापसे सेवन गरेको भन्दै २० जना प्रहरी विभागीय कारबाहीमा

काठमान्डौ,असोज ३० ।
रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अनुशासनहीन काम गरेको, मापसे सेवन र आफ्नो ड्युटी नगरेको भन्दै उनीहरु कारबाहिमा परेको बताइएको छ । जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् ।

यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न एवम् खराब काम गर्नेलाई दण्डित गर्न पुरस्कार र दण्डको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ । आगामी वर्षबाट यस कार्यलाई थप कडाइका साथ पालना गरिने बताइएको छ ।

यता रोल्पा जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला भनेर राखेको भए पनि हाल जिल्लामा दरबन्दीअनुसार प्रहरी कर्मचारीको व्यवस्था हुन सकेको छैन ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...