आज कोजाग्रत पूर्णिमा, यसवर्षको वडा दशै विसर्जन गरिदै

काठमान्डौ असोज २९।
आज कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी दुर्गा पक्ष अर्थात् बडादसैँ समापन गरिँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशै आज बिहानै दशैंघर, कोत र पूजा कोठामा घटस्थापनाको दिनमा राखिएको जमरा तथा टिकालाई नदीमा विसर्जन गर्दै समापन गरिदैछ ।

तिथि अनुसार आज अपराह्न १२ बजेर २२ मिनेटसम्म चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि सुरुवात हुने भएकाले कोजाग्रत पूर्णिमा आजै भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोजागत पूर्णिमाको महत्व मध्यरातमा हुने र भोली बिहानसम्म पूर्णिमा भएपनि रातमा भने प्रतिपदा तिथि सुरु भइसक्ने भएकाले आजै कोजागत पूर्णिमा मनाउने गौतमले बताउनुभयो ।

आज रातभर जाग्राम बसी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । महालक्ष्मीको पूजा गरी आज रातभर जाग्राम बस्ने भएकाले यस पूणिर्मालाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

आजको राति को जागा अर्थात जाग्राम बसेको छ भनी महालक्ष्मीले पृथ्वी भ्रमण गर्ने र जाग्राम बसेका भक्तको घरमा प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक जनविश्वास छ ।

यसैबीच पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान भने भोलीबाट मात्र सुरु हुनेछ । पूर्णिमा तिथिमा सूर्योदय भएका दिन नै व्रत तथा कात्तिक स्नान सुरु गर्नुपर्ने शास्त्रीय मान्यता भएकाले भोलीबाट मात्रै ती कार्य सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

पूर्णिमाकै दिनदेखि घरघरमा बाँस, पलाँस, खयर, पीपल लगायतको लिङ्गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा चलन छ । आजै राजधानीस्थित स्वयम्भू चैत्यमा बिशेष महादीप दान गर्ने चलन छ ।

यसैविच कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको वडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...