चीनियाँ राष्ट्रपति सि र प्रचण्डबीच आधा घण्टा मात्रै भेटवार्ता

काठमाडौं, असोज २७ ।

ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली (शनिबार) चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आधा घण्टा भेटवार्ता गर्ने तय भएको छ।

१५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी भोली गोवा जान लागेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ पुगेलगत्तै साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ‘साइडलाइन’ भेट्ने समय मिलाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री दाहालले गोवा भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिसँगको भेटलाई मुख्य प्राथमिकतामा राखेको परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीले बताए।

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी नेपाल, बंगलादेश हुँदै गोवा पुग्ने सुरुको कार्यक्रम परिवर्तन भएर कम्बोडिया, बंगलादेश हुँदै जाने भएका छन्। त्यसक्रममा बिहिबार राष्ट्रपती सी कम्बोडिया पुगेका छन्।
सीको नेपाल आउने कार्यक्रम अहिलेलाई स्थगित भएपछि प्रधानमन्त्री दाहालले गोवामै साइडलाइन भेटवार्ता गर्ने समय मिलाइएको हो।

प्रधानमन्त्री दाहाल असोज २९–३० गते भारतको गोवामा हुने उदीयमान शक्ति राष्ट्रहरु ब्राजिल, रसिया, भारत, चीन, दक्षिण अफ्रिका (ब्रिक्स) को आठौँ शीखर सम्मेलनमा पर्यवेक्षकको रुपमा सहभागी हुनेछन्। सोही मितिमा गोवामा राखिएको बंगालका खाडीसम्वद्ध देशहरुको संगठन बिमस्टेकको बैठकमा पनि सहभागी हुने दाहालको कार्यक्रम छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य तथा सचिवालय सदस्य मनोहरि तिमिल्सिनाका अनुसार गोवा जाने टोलीमा प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शंखरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारी, शिष्टचार महापाल दिपक अधिकारी, स्वकीय सचिव प्रकाश दाहाल, सचिवालय सदस्य मनोहरि तिमिल्सिना, निजी चिकित्सक डा.युवराज शर्मा लगायत १५ जना रहनेछन्।

राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका एक एक जना संवाददाता पनि टोलीमा समावेश गरिएको छ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter