दशैमा ५८ हजार खसीबोका बिक्रि भएको तथ्याङक


काठमाण्डौ ,२८ असोज ।

बडादशैको अवसरमा उपत्यकामा करिब ५८ हजार खसीबोका र च्याङ्ग्रा बिक्री भएको छ ।

खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीको तथ्यांक अनुसार ६ दिनमा करिब ४७ हजार ८ सय खसीबोकारच्याङ्ग्रा बिक्री भएको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी चौपाया संघले बिक्री गरेको छ । संघले फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलि पल्टसम्म ५५ हजार बिक्री गरेको संघका अध्यक्ष दीपक थापाले बताउनु भयो ।

यसपटक एउटा खसीबोकाको मूल्य औसतमा १४ हजार रुपैयाँ सम्ममा बिक्रि भएको जनाउदै उहाले कलंकीबाट मात्रै ७७ करोड रुपैयाँको खसीबोकारच्याङ्ग्रा बिक्री भएको बताउनु भयो ।

यीबाहेक सडक पेटीमा खसीबोका राखेर व्यापार गर्ने व्यवसायीको तथ्याङक भने नसमेटीएको उहाले जानकारी गराउनु भयो।

यसपटक खसिबोका भारतको लखनऊ, कर्नाटकलगायत १० स्थानबाट आयात गरी बिक्री गरेको उहाले बताउनु भयो । यस्तै, बर्दीया, सल्यान, सुर्खेत, कोहलपुर, कटहरी, गाईघाट, रामेछाप, चितवन, नुवाकोट लगायतबाट पनि राजधानी भित्र्याएर बिक्री गरेको व्यवसायीहरू बताउँछन् ।

संघका अनुसार उपत्यकाबाट धेरै मानिस दसैं मनाउन गाउँ जाने गरे पनि मासु खाने उपभोक्ताको संख्यामा वृद्धि भएको छ ।
सुरुमा खसीबोका किलोको ४ सय ६० रुपैयाँमा बिक्री गर्ने जनाईएपनि माग बढेपछि किलोमा ५ सय १० रुपैयाँसम्ममा बिक्री भएको थियो ।

संस्थानले भने २५ किलोसम्मका खसीबोकाको मूल्य ४ सय ४० र २५ किलोभन्दा माथिलाई ४ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । मागअनुसार सहज व्यवस्था मिलाउन संघले ७ हजार च्याङ्ग्रा समेत राजधानी भित्र्याइएको थियो ।

च्याङ्ग्रा किलोको ७ सय रुपैयाँमा बिक्री भएको थापाले बताउनु भयो । सरकारले भने किलोको ६ सय ५० रुपैयाँमा च्याङ्ग्रा बिक्री गरेको थियो ।

यस्तै, दसैंमा कुखुराको मासुको कारोबार पनि बढेको व्यवसायीहरू बताउँछन् । नेपाल पेल्ट्री व्यवसायी संघका अनुसार फूलपातीदेखि ५ दिन उपत्यकामा दैनिक ३ लाख किलो मासु बिक्री भएको थियो ।

उपत्यका बाहिर भने २ लाख बिक्री भएको संघका अध्यक्ष जगबहादुर बीसीले बताउनु भयो । चाडपर्वमा होटलहरू बन्द भए पनि खुुकुराको मासुको खपत २० प्रतिशतले बढेको उहाले बताउनु भयो ।

संघका अनुसार प्रतिकिलो मासुको औषत मूल्य २ सय ८५ रुपैयाँमा छ । जसअनुसार ५ दिनको अवधिमा उपत्यकामा मात्रै ४२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको संघले जनाएको छ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया