अन्तराष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा गरिने

काठमाडौँ, २८ असोज ।
विश्व हिन्दू महासंघ अन्तराष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्रा्ष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।

उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिनेछ । नेपाल, भारत लगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १० हजार हिन्दू धर्मका अनुयायीको सहभागिता रहने बताइएको छ ।

साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्ताव समेत पारित गर्ने महासङ्घका सचिव अस्मिता भण्डारीले जानकारी दिनुभयो ।

काठमाडौँको वनकालीमा हुने सो सम्मेलनबाट अन्तर्रा्ष्ट्रिय विश्व हिन्दू महासङ्घको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया