मान्छेको ज्यान लिने ‘सेप्सिस’ के हो, कसरी र किन हुन्छ ?

सेप्सिस के हो ? मेडिकल शिक्षा पाएका कति चिकित्सकले समेत यो विषयमा जानकारी प्राप्त गर्न सकेका हुँदैनन् । आम जनतामाझ त यो झन् ‘के हो, के हो?’ जस्तो भएको छ।

क्यान्सर र एड्स भन्दा भयावह र तीव्र गतिमा फैलिरहेको सेप्सिसले हरेक ३ देखि ४ सेकेन्डमा एउटा बिरामीको ज्यान लिन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो यथार्थ हो र यो ज्ञान नै यस विरुद्ध लाग्न, चेतना जगाउन र हातेमालो गरेर यसलाई निस्तेज पार्न सहकार्य गर्न उत्प्रेरित गर्ने एउटा कुरा पनि  हुन सक्छ।
हरेक वर्ष क्यान्सर, एड्स, मस्तिष्कघात र हृदयघातको रोकथाममा जति खर्च र ध्यान दिइन्छ, त्यति नै खर्च र ध्यान सेप्सिसको रोकथाम र उपचारमा दिने हो भने धेरैको ज्यान जोगिन सक्छ । त्यति मात्रै होइन, यसको कारणले हुने खर्च र विनाशको मात्रामा कमी ल्याउन अवश्य सकिन्छ !

सघन उपचार कक्षमा काम गर्ने चिकित्सक भएकाले विश्वमै टाउको दुखाइको विषय रहेको र  बर्षेनी करोडौंको ज्यान अनाहकमा लिईरहेका तर रोक्न सकिने एउटा अवस्था ‘सेप्सिस’को बारेमा उल्लेख गर्दैछु। आज ‘विश्व सेप्सिस दिवस’ अर्थात् सेप्टेम्बर १३ को मौका पारेर सेप्सिस बारे केही जानकारी पस्किने प्रयास गरेको छु ।

के हो सेप्सिस ?
सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यान नै जोखिममा पार्न सक्ने रोगको एक अवस्था हो । यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दाखेरी उत्पन्न हुने एक किसिमको शारिरीक प्रतिक्रियाको रुपमा पनि हेर्न सकिन्छ । यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अंग प्रणालीहरुलाई आक्रमण गरेर तिनलाई निस्तेज तुल्याउन सक्छ, जुन सेप्सिसको विकराल अवस्था हो ।

सेप्सिसका मुलत: तीन रुप हुन्छन:

  • सेप्सिस
  • सेप्सिस र अंग प्रणाली कमजोर हुनु : जस्तै फोक्सो, कलेजो र मृगौला
  • सेप्सिस र रक्तचाप अत्यन्त कम हुनु : नशाबाट दीइएको तरल (सलाइन) ले पनि नभई रक्तचाप बढाउने औषधि प्रयोग गर्नु परेको अवस्था

यी सबको परिणाम: शरीरलाई चाहिने अत्यावश्यक तत्वहरू जस्तै अक्सिजन, रगत र अन्य सुक्ष्म-तत्वहरू चाहिने ठाउँमा नपुग्न सक्छ र बिरामीको अवस्था झन् जटिल हुँदै जाने हुन सक्छ।

सेप्सिस कुनै रोग नभई रोगहरुको समूह (सिन्ड्रोम) हो।

सेप्सिस कसलाई हुन्छ ?

सेप्सिसले कुनै जात, धर्म, लिङ्ग र उमेर भन्दैन। तर यो प्राय: जसो निम्न-लिखित व्यक्तिहरुमा बढी हुने सम्भावना रहन्छ :

१. उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कम भएका (जस्तै एच.आई.भि/एड्स, क्यान्सर, अंग प्रत्यारोपण भएका) ।

२. सघन उपचार कक्षका बिरामीहरु।

३. चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामीहरु।

४. कृत्रिम श्वास-प्रश्वास दिएर भेन्टिलेटरमा राखेका बिरामीहरु।

 सेप्सिसको पहिचान किन जरुरी हुन्छ?

सेप्सिसको उपचारमा गरिने प्रत्येक घन्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ र चाँडै गरिने उपचारले त्यो मृत्युदरलाई कम गर्न सकिन्छ।

सेप्सिसका लक्षणहरु:

यी चार मध्ये कुनै दुई लक्षण देखिएमा सेप्सिस भएको हुन सक्ने सम्भावना प्रबल हुन्छ:

१. शरीरको तापमान ३८.२ भन्दा माथि अथवा ३७ डिग्री भन्दा कम हुनु

२. मुटुको चाल प्रति मिनेट ९० भन्दा बढी हुनु

३. श्वासप्रश्वासको गति प्रति मिनेट २० भन्दा बढी हुनु

४. अनुमानित अथवा प्रमाणित संक्रमण भएको अवस्था

तलका लक्षण देखिएमा चाहिं सेप्सिस सहित अंगप्रणाली काम गर्न छोडेको थाहा हुन्छ:

  • होश कम हुनु
  • पिशाबको मात्रा अति कम हुनु
  • शरीरको रगत जमाउने कोषिका (प्लेटीलेट) को संख्यामा कमी आउनु
  • मुटुको चालमा गडबडी आउनु अथवा काम गर्ने क्षमतामा कमी आउनु
  • सास फेर्न गाह्रो हुनु
  • पेट दुख्नु र जंडिस देखिनु

यी लक्षण संगै रक्तचाप अति न्यून भई औषधि प्रयोग गर्नुपरेको खण्डमा त्यो सेप्सिसको अति जटिल अथवा बिकराल अवस्था मानिन्छ, किनकि यसको मृत्यूदर धेरै हुन्छ (५०% भन्दा बेसी)

 सेप्सिस कुन जिवाणुले गराउँछ ?

सेप्सिस धेरै किसिमका जीवाणुले गराउन सक्छन; जस्तै ब्याक्टेरिया, भाईरस वा फंगस। जुनै जिवाणुले गरे पनि निम्नलिखित बिरामीमा सेप्सिस हुने खतरा धेरै रहन्छ:

  • न्यूमोनिया (फोक्सोको संक्रमण)
  • पेटभित्रको संक्रमण
  • मृगौलाको संक्रमण
  • रगतको संक्रमण

सेप्सिस भएको शंका लागेमा के गर्ने?

यदि सेप्सिस भएको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य-संस्था अथवा चिकित्सकसंग परामर्श लिनु पर्छ; औषधि पसलमा गएर जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नु हुँदैन।

यसका साथ-साथै चिकित्सकको सल्लाहमा रगत, खकार, दिसा, पिसाब, वा पिप आदि जांच गर्न पठाउनु पर्छ।

यसका साथै परेको खण्डमा भिडियो एक्स-रे, सामान्य एक्स-रे, सिटी-स्क्यान अथवा एमआरआई समेत गराई सेप्सिसको कारण पत्ता लगाउनुपर्ने हुन्छ।

  सेप्सिसको उपचार रोकथाम कसरी गर्ने?

सेप्सिस भएको खण्डमा सामान्यतया गरिने उपचारहरुमा सलाईन, अक्सिजन वा परि आएको खण्डमा कृत्रिम श्वासप्रश्वास, उचित एन्टीबायोटिक, मृगौला खराब भएमा समयमै डाईलाईसीस, समयमै प्रेशर बढाउने औषधि अनि शरीरको कुनै भाग संक्रमित भएको वा कुहिएको खण्डमा शल्यक्रिया गर्नुपर्ने हुन्छ।

तर रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हुन्छ, यस कारण केहि सामान्य कुरामा ध्यान पुर्याएमा सेप्सिसबाट बच्न सकिन्छ:

  • बिरामीलाई छुनु आघि र पछि हात धुने
  • संक्रमित वस्तु छोएपछि हात धुने
  • कुनै संक्रमण भएको शंका मात्रै लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिने
  • जथाभावी एन्टीबायोटिक औषधि प्रयोग नगर्ने
  • जनचेतना फैलाउने

यी सबै कुरा ध्यानमा राखेर हामी सबै मिलि हातेमालो गरेर सेप्सिसलाई निस्तेज पार्न सक्छौं !स्वास्थ्य खबरपत्रिकाबाट

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...